सरकारले भूकम्प पीडितको लाभग्राहीमा नपरेकाहरूको गुनासो भर्न अन्तिम म्याद यही जेठ मसान्तसम्म दिएको छ ।
पीडितहरूले गुनासो पनि भरिरहेका छन् । तर, पटकपटक गुनासो भर्दा पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै बेलकोटगढी नगरपालिका–५ का बासिन्दाले दिक्क भएको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ३० गते बेलकोटगढी नपा–५ लामाचौरमा भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले छुट गुनासो मात्र भर्न लगाउने तर त्यसको सुनुवाइ भने नहुने गरेको गुनासो गरेका हुन् ।
भूकम्पले घर पूर्ण रूपमा भत्किएपनि सुनिता श्रेष्ठको नाम लाभग्राहीको सूचीमा नपरेको भन्दै । ‘घर भूकम्पले भत्कियो । सबैलाई थाह छ । तर, बेंशीको गोठ भत्किएको थिएन । त्यसैलाई बस्न योग्य घर भनेर लेखिदिएछन् । गुनासो पटकपटक भरियो तर, नाम आएन । यस पटक सहित चार पटक भयो गुनासो भरेको ।’ उनले भनिन् ।
यस्तै बेदप्रसाद लामिछानेले पनि गुनासो भर्दाभर्दा दिक्क भएको बताए । ‘जति भरे पनि लाभग्राहीको सूचीमा नाम परेन । यो पटक पनि भरेको छु । अहिले पनि भर्नु मात्र हुने हो कि !’–उनले शङ्का व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष अनन्तराम नेपालले केही पक्कि घर हुनेको नाम लाभग्राहीको सूचीमा परे पनि केही वास्तविक भूकम्प पीडितको भने नाम नपरेको कारण यस्तो समस्या परेको बताए ।
उनले आफू जनप्रतिनिधि भए पनि सिफारिस बाहेक केही गर्ने अधिकार नहुँदा वास्तविक पीडितहरूलाई सहयोग गर्न असमर्थ भएको बताए ।
‘वास्तविक पीडित हुन्, थाहा छ । तर, हामीले गर्ने पनि सिफारिस मात्र रहेछ । नाम नआउँदा पीडित भएका छन् । भूकम्पमा घर भत्किएर दुई जनाको ज्यान गुमाएको परिवारले समेत पाउन सकेन । यो पटक चाँहि पर्न सक्छ कि ?’–उनले भने ।
पुनर्निर्माणको अवस्था राम्रो भएको पहिलो किस्ता लिएकामध्ये ७५ प्रतिशतले तेस्रो किस्ता समेत पाइसकेको वडाअध्यक्ष नेपालले बताए ।
पहिलो १ सय ७३ गुनासो रहेकोमा अधिकांशको सम्बोधन भएको छ भने ४५ जनाको नयाँ छुटमा नाम आएको उनले बताए । वडाअध्यक्षका अनुसार यो पटक २ सय भन्दा बढी गुनासो वडाका कार्यालयमा दर्ता भएकोका प्राविधिक आएर सर्वेक्षण गर्ने काम पनि सुरू भएको छ । भूकम्पमा परी यो वडामा १० जनाको ज्यान गएको थियो ।




नवदीप श्रेष्ठ