अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरूका लागि दुई दिने तालिम वैशाख २४ र २५ गते फेदीखोलामा सञ्चालन गरिएको छ ।
कियोस परियोजना अन्तर्गत स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङले विकास भनेको भौतिक विकास मात्रै नभएर मानसिक रूपमा पनि हुनुपर्ने भन्दै मानिसका सबै पक्ष र आवश्यकतामा सकारात्मक परिवर्तन आएमा मात्रै समाजमा विकास हुने बताए ।
उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दिपकजङ्गध्वज कार्कीले मानव अधिकारमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहले आवश्यक ऐन नियम बनाएर काम गरेको खण्डमा समस्या नआउने बताए ।
कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउपालिका मानव अधिकारका साथै सांस्कृतिक तथा खाद्य अधिकारप्रति प्रतिबद्ध रहेको बताए ।
तालिममा सहभागी जनप्रतिनिधिहरूले सूचना अधिकारी तोकेर कार्यालयका काम कारवाहीका बारेमा जानकारी गराउनै प्रतिबद्धता ब्यक्त गरेका थिए भने मानव अधिकार निगरानी समूहका सदस्यहरूले सूचनाको हकका बारेमा जानकारी माग गर्ने बताएका थिए ।
दुई दिनसम्म चल्ने तालिममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपकजङ्गध्वज कार्की, अधिवक्ता तथा पत्रकार सुष्मा पौडेल, सुशासनका लागि नागरिक समाजका कार्यक्रम अधिकृत भानु पराजुलीलगायतले तालिममा सहजीकरण गरिरहेको इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका कार्यक्रम संयोजक सवनम शर्माले जानकारी दिइन् ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले स्थानीय तह तथा राजनीतिक दलका प्रतिनिधिहरू मानव अधिकारको विषयमा सचेत हुनुपर्ने बताउँदै स्थानीय तह अब विकाससँगै जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेत हुनुपर्ने भनाई राखेका थिए ।




हिमलाल पराजुली