अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख ११ गते म्याग्दे गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी गाउँपालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा लागु गरेको नीति र कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष माया रानाले इन्सेकले विगत तीन वर्षदेखि गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा निकै राम्रो कार्यक्रम सञ्चालन गरेको बताइन् ।
उनले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तय गरिएको भन्दै सबैको सुझावमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताइन् ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार नागरिकको मौलिक हक भएको हुँदा त्यसको कार्यान्वयनको लागि नीति र योजनाहरू बनाइएको बताए ।
देश सङ्घीय संरचनामा गएपनि स्थानीय तहलाई अधिकार हस्तान्तरण नहुुँदा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सोचे अनुसारको उपलब्धि प्राप्त हुन नसकेको उपाध्यक्ष घिमिरेले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले चालु आर्थिक वर्षको हालसम्म शिक्षातर्फ ५४ प्रतिशत, स्वास्थ्यतर्फ ६४ प्रतिशत र कृषितर्फ ४५ प्रतिशत उपलब्धि प्राप्त भएको बताए ।
सरकारले अहिले दरबन्दी अनुसारको शिक्षक नपठाएको कारण केही विद्यालयमा शिक्षकको अभावमा बन्द भएको उनले बताए । गाउँपालिकाले नीति र योनजाहरू बनाउँदा मानव अधिकारमैत्री बनाइएको तिवारीको भनाई छ ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष श्रीबहादुर थापाले मानव अधिकार निगरानी समूहसँग सहकार्य गरी काम गर्दा राम्रो उपलब्धि भएको बताएका थिए ।
सो कार्यक्रममा शिक्षा शाखाका प्रमुख बिजयराज बडु, स्वास्थ्य शाखाका प्रमुख दयाराम तिवारी र कृषि शाखाका प्रमुख भविलाल रानाभाटले गाउँपालिकाले सम्बन्धित क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
सेवाग्राहीले स्वास्थ्य चौकीको भवन भएपनि कर्मचारी नहुँदा सेवा अवरूद्ध भएको, यस वर्ष अनुदानमा वितरण गरिएको आलु गत वर्षको भन्दा फरक जातको भएको कारण विक्री गर्न समस्या भएको, विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठन पाठन प्रभावित भएकोलगायतका समस्याहरू राखेका थिए ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सवनम शर्माले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाई शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा गुणस्तरीय काम गर्नुपर्ने बताइन् ।




प्रकाशचन्द्र भट्टराई