INSEC Online

📅 २०८३ जेष्ठ २१

चान्दबेलामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को कार्यालय विराटनगरको आयोजनामा फागुन १४ गते इनरुवा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै इनरुवा नगरपालिका–७ चान्दबेलाका वडा अध्यक्ष किशोरकुमार सिंहले आफहरूले जनताको कामका लागि लागिपरेको बताए ।

आफ्नो पौने दुई वर्षको कार्यकालमा शिक्षामा नियमित अनुगमन र अङ्ग्रेजी माध्यममा पठनपाठन सुरू गरेको उनले बताए ।

उनले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण केही समस्या भएको र शिक्षा सुधारका लागि पहल थालेको बताए ।

उनले शिक्षा सुधारका लागि अनुगमन गरेपनि सुधारमा निरासाजनक अवस्था रहेको गुनासो गर्दै नागरिकहरू सचेत हनुपर्ने बताए ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गरेको तर त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

सेवाप्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने वडा अध्यक्ष सिंहले बताए ।

शिक्षा, स्वास्थ्य र खाध्य अधिकार विषयक सेवाग्राही र सेवादायीबीच अन्तरक्रिया कार्यक्रममा शिक्षा शाखा प्रमुख यज्ञ ढकालले शिक्षाको गुणस्तरीयतामा जोड दिएका छन् ।

शिक्षाको गुणस्तरका लागि विद्यालयहरुको नियमित अनुगमन आवश्यक रहेको गढी मानव अधिकार निगरानी समूहका अध्यक्ष गगन सिंहले बताए । उनले शिक्षामा सरकारी निकायको बेवास्ता रहेकाले समस्या भएको बताए ।

कार्यक्रममा समिर सिंहले शैक्षिक गुणस्तरका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले शिक्षाको विकासले समग्र विकास गर्न सकिने बताए ।

इनरुवाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य र खाद्य अधिकार मानव अधिकार तथा मौलिक हकको रुपमा आएकाले त्यसमा नागरिकहरू समेत सचेत हुन जरुरी रहेको बताए ।
जयकृष्ण यादव

अन्य

भिडियो