प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासमा सहयोग पुग्ने बताएका छन् ।
इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँ र मानव अधिकार सञ्जाल काठमाडौँले माघ ८ गते टोखा नगरपालिकामा आयोजना गरेको “नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौति विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै निरौलाले सो कुरा बताएका हुन् ।
निरौलाले नागरिक समाज र स्थानीय सरकारबीच अधिकारका कुरामा मात्र नभएर विकासका सवालमा पनि सहकार्य आवश्यक रहेको बताए ।
सडक, भवनलगायतका भौतिक निर्माण हुनु मात्र विकास नभएको भन्दै आत्मनिर्भर भएर जीउने अवस्थाको सिर्जना हुनु नै “सुखी नेपाली सम्बृद्ध नेपाल” भन्ने सरकारको कार्यक्रमले सार्थकता पाउने निरौलाको धारण छ ।
कार्यक्रममा टोखा नगरापालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक ज्ञानुमायाँ डङ्गोलले इन्सेकले नगरापालिकाका प्रतिनिधि र नागरिक समाजबीच अन्तक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय सरकारको काममा सहकार्य गरेको बताइन् ।
उपप्रमुख डङ्गोलले हामी आफैँले कार्यक्रम गर्न नसकेको अवस्थामा स्थानीय सरकारको काम र नागरिक समाजको अपेक्षा तथा सुझावलाई एउटै थलोमा राख्न सहयोग मिलेको बताइन् ।
इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले गैरसरकारी संस्थाहरू पनि विकासका काममा सहकार्य गर्न स्थानीय तहसम्म आइपुगेको बताए ।
विकास निर्माण भन्नाले पुल, बाटो र भवन बन्नु मात्र नभएको बताउँदै गौतमले जनताको क्षमता अभिवृद्धि हुनु, नागरिक सचेतना बढ्नु पनि विकासको महत्वपूर्ण पाटो भएको उल्लेख स्पष्ट पारेका थिए ।
उनले सहश्राब्दि लक्षमा पुग्न पनि स्थानीय तह र नागरिक समाजले सहकार्य गरेर बढ्न आवश्यक रहेको बताए ।
गौतमले नागरिक समाज र स्थानीय सरकार पक्ष प्रतिपक्ष नभएको भन्दै विकासको काममा साझेदारी गरेर अघि बढ्न नै यो कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
उनले नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यले महिला, बालबालिका, दलित, अल्पसङ्ख्यक, जनजातिका क्षेत्रमा उल्लेख्य काम गर्न सकिने बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले टोखा नगरपालिका क्षेत्रमा स्थापना भएका सङ्घसंस्थाले यस क्षेत्रको विकासमा पनि सहकार्य गर्न आवश्यक भएको बताए ।
यहाँ दर्ता भएर सञ्चालन हुने संस्थाले देशैभर काम गर्ने भए पनि स्थानीय तहमा के कसरी सहयोग गरेको छ र वार्षिक प्रगति विवरण के छ भनेर जानकारी दिएमात्र सहकार्यले सार्थकता पाउने उनको धारण थियो ।
कार्यक्रममा प्रदेश ३ का सभासद, टोखा नगरपालिका उपमेयर, नगरपालिकाका ११ वडा मध्ये ९ ओटा वडाका वडाअध्यक्ष, नगरपालिकाका कार्यकारी समितिका सदस्य, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि लगायत ७५ जनाको सहभागिता रहेको थियो ।
सो कार्यक्रमका सहभागी तथा नागरिक समाजका प्रतिनिधिहरुले लामो सङ्क्रमणकालको अन्त्य भएर आज हामी यहाँ आइपुग्ने अवस्थामा नागरिक समाजको सहयोग रहेको र त्यसलाई जनप्रतिनिधिहरुले भुल्न नहुने बताए ।



इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ