INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व जिल्लाका सरोकारवालाको उपस्थितिमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेका छन् ।

सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सिन्धुलीमाढीमा सम्पन्न गरिएको छ ।

Photo20180630Sindhuli

कार्यक्रममा कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले महिला हिंसा नियन्त्रणका लागि नगरको तर्फबाट रणनीतिक कार्ययोजना सहित कार्यक्रम बनाएर अघि बढ्ने बताइन् ।

उनले स्थानीय सरकारले आफ्नो स्थानीय तहमा मानव अधिकार उल्लङ्घनको अवस्थाको विश्लेषण गरी काम गर्नुपर्नेमा जोड दिइन् । उनले व्यक्ति, परिवार र समाजको सभ्यता विकास भएमा मानव अधिकार हनन् तथा उल्लङ्घनका घटनामा कमी आउने बताइन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले जिल्लामा जघन्य मानव अधिकार उल्लङ्घनका घटनाहरूको सङ्ख्यामा कमी आएपनि अन्य घटनाक्रमहरू बढेको पाइएकाले अझ जागरण तथा सचेतका कार्यक्रम गर्नु आवश्यक रहेको बताए । उनले गाउँगाउँमा कानुनी शिक्षा दिन सकेमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउने बताए ।

जिल्लास्तरीय मानव अधिकार सञ्जालका सदस्य सविता कोइरालाले इन्सेकको प्रतिवेदनले हरेक दिन महिलालाई घरमै भूकम्प आए बराबरको जीवन बाँच्नु परेको देखाएको बताइन् । यस विषयमा राज्यका निकाय सम्वेदनशील हुनुपर्नेमा कोइरालाले जोड दिइन् ।

प्लान नेपाल सिन्धुलीका प्रमुख रामबहादुर श्रेष्ठले मानव अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्था र राज्यका जिम्मेवार निकायले जोखिम उठाउन तयार नभएमा द्वन्द्व र दण्डहिनतामा कमी नआउने दावी गरे ।

इन्सेक प्रतिनिधि पाण्डेले सन् २०१८ को पछिल्लो ६ महिनामा जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । जिल्लामा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६९ ओटा घटनाहरू सार्वजनिक गरिएको छ ।

जसमा सबैभन्दा बढी घरेलु हिंसाका ५१ ओटा, हत्याका चार, बालिका बलात्कारका दुई, यौन दुर्व्यवहारका तीन, महिला बलात्कार एक, बलात्कार प्रयास एक, बालिका बेचबिखन तथा बलात्कारका एक/एक, बालिका अपहरण तथा शरीर बन्धक र बलात्कारका एक/एक, बहुविवाहका तीन र बालविवाहका दुई ओटा घटना अभिलेख गरिएको छ ।

चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार असार १५ गते आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा यस वर्षको ६ महिनामा सङ्कलन गरिएका ३३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

Photo20180630Chitwan (1)

जसमध्ये हत्याको एक, बालिका बलात्कारका १३ तथा यौन दुर्व्यवहार दुई, महिला बलात्कारका तीन तथा बलात्कार प्रयासका पाँच, मानव बेचबिखनका चार र बहुविवाहका पाँच ओटा घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शिव शर्मा आचार्यले बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेको बताए । बालिकामाथि हुने बलात्त्कार तथा यौन दुर्व्यवहारका घटना हुन नदिन सचेत हुनु पर्नेमा उनले जोड दिए ।

Photo20180630Chitwan (2)

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला सदरमूकाम चरिकोटमा असार १४ गते आयोजित अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यस वर्षको पछिल्लो ६ महिनामा सङ्कलन गरिएका २३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरिएको छ ।

Photo20180630Dolakha

उनले बलात्कारका आठ, बलात्कार प्रयासका तीन, बालविवाहको एक, मानव बेचबिखनको एक, महिलामाथि कुटपिटका दुई र बहुविवाहका आठ ओटा घटना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मानव अधिकार निगरानी समूह दोलखाका अध्यक्ष होम पाठकले प्रविधिका कारण पनि समाजमा विकृति बढाएको हुँदा त्यसतर्फ समाजमा चेतना बृद्धिका लागि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।

जिल्ला सरकारी वकिल बद्री नेपालले पीडितलाई झन् पीडित बनाउने घटनालाई उजागर गर्न नहुने विचार राखे ।

नेपाल बार एशोसिएशन दोलखा अध्यक्ष सरोज उप्रेतीले नयाँ प्रविधको प्रयोगका कारण बालिकामाथिको यौनजन्य हिंसा बढेको बताए ।

नेकपा दोलखाका जिल्ला नेता हिरा थोकरले नेपाल मानव अधिकार वर्षपुस्तकमा औपचारिक र अनौपचारिक दुवै किसिमका तथ्याङ्क समावेश हुनु पर्नेमा जोड दिए । उनले चेतना भन्दा बढी प्रविधिको प्रयोग बढेको हुँदा समाजमा अपराधका घटना बढेको बताए ।

इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार खलङ्गामा असार १६ गते सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताए ।

Photo20180630Jajarkot

जिल्ला अदालत जाजरकोटका श्रेष्तेदार मेघनाथ चपाईले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन विभिन्न खालका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरूरी रहेको बताए । उनले गाउँगाउँमा मानव अधिकार र मानव अधिकार उल्लङ्घनबारे धेरैलाई जानकारी नहुँदा पनि यस्ता घटना भइरहने बताए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि श्रेष्ठले विगत ६ महिनामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घनका १३ ओटा घटना प्रस्तुत गरेका थिए ।

अनलाइन डेस्क

अन्य

भिडियो