INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेका छन् ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार असार १३ गते आयोजित पूर्व समीक्षा कार्यक्रममा यस वर्षको ६ महिनामा सङ्कलन गरिएका १६ ओटा मानव अधिकार उल्लङ्घनका घटनाको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

Photo20180627Sindhupalchok (1)

जसमध्ये व्यक्तिगत हत्या चार, बालिका बलात्कारका चार, बलात्कार प्रयासका दुई, महिला बलात्कारका दुई, कथित बोक्सीको आरोपको एक र घरेलु हिंसाको एक तथा जातीय विभेद र कुटपटिका एक/एक ओटा घटना रहेका छन् ।

इन्सेकले अनुगमनको क्रममा पाएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाको बारेमा समेत समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।

Photo20180627Sindhupalchok (2)

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले मानव अधिकारको संरक्षणमा निर्वाचित जनप्रतिनिधि प्रतिबद्ध हुनको लागि स्थानीय तहका जनप्रतिनिधिहरूलाई मानव अधिकारबारे सचेतना दिनुपर्ने र सो कामको लागि जिल्ला समन्वय समितिले पहल गर्ने बताइन् ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गौरीशङ्कर पाण्डेले अपराधमा संलग्न आरोपित प्रहरी कार्यालयबाटै फरार हुनु गम्भीर विषय भएको बताउँदै अझैपनि कतिपय विद्यालयका बालबालिकाहरू माथि भएका दुर्व्यवहारका घटना उजागर हुन नसकेको बताए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र तामाङले मानव अधिकार संरक्षणमा जिल्ला प्रहरी कार्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका युवराज पुरीले नागरिक आन्दोलन कमजोर भएका बेलामा मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धि हुने बताउँदै इन्सेकले प्रस्तुत गरेको घटनाभन्दा अझै धेरै घटना छुटेको हुन सक्ने हुनाले छुटेका घटना पनि समेट्न सुझाव दिए ।

भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार भक्तपुरमा आज आयोजित पूर्व समीक्षा कार्यक्रममा जिल्लामा विगत ६ महिनामा संकलित २४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटन प्रतिवेदन प्रस्तुत गरिएको छ । जसमध्ये गैरराज्य पक्षबाट तीन हत्या, एक हत्या प्रयास, १३ बलात्कार, दुई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार, पाँच बहुविवाहका घटना छन् ।

Photo20180627Bhaktapur

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले मानिसमा सचेतना बढेकाले कुनै पनि घटनाको उजुरी दिने प्रचलन भएकाले घट्नाको सङ्ख्या बढेको बताए । उनले प्रहरीले दोषीलाई उम्कने ठाउँ नदिने जानकारी दिए ।

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाइँले कानूनले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमति मै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिले पछि बलात्कारमा उजुरी दिने बढ्दो प्रबृत्तिलाई रोक्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी र लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य लगायतले घटना बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए ।

मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लङ्घनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए ।

इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साह सोनारका अनुसार असार १३ गते आयोजित कार्यक्रममा ६ महिनामा जिल्लामा सङ्कलित २८ ओटा घटना प्रतिवेदन प्रस्तुत गरिएको छ । सङ्कलित घटनामध्ये हत्याका चार, बलात्कारका आठ, बलात्कार प्रयासका तीन र बहुविवाहका पाँच ओटा घटना रहेका छन् ।

Photo20180627Bara

‘प्रहरी, राज्यपक्ष वा गैरराज्यपक्षले मानव अधिकारको उल्लङ्घन तथा ज्यादती गर्‍यो भन्दा पनि स्थानीय तहमा न्यायिक समितिले के गरिराखेको छ भन्ने बारेमा इन्सेकबाट निगरानी हुनुपर्छ ।’-नेकपाका स्थानीय नेता मुकेश साहले भने-‘प्रहरीले वा राज्यका कर्मचारीले मात्र होइन, जनप्रतिनिधिले पनि मानवताविरूद्ध कहाँकहाँ काम गरेका छन् ? त्यसको निगरानी इन्सेकबाट हुनुपर्छ ।’

राजपा नेपालका केन्द्रीय सदस्य श्याम गुप्ताले स्थानीह तहमा विकासको नाममा व्यक्तिको निजी सम्पत्ति नोक्सानी भइरहेकोमा त्यसमा स्थानीय सरकार सम्वेदनशील नभएको आरोप लगाए । नागरिक समाजका महासचिव तथा मानव अधिकार जिल्ला निगरानी समूहका संयोजक हिरालाल साहले नागरिकको अधिकार हननप्रति इन्सेकले सधैँ खबरदारी गर्नुपर्ने सुझाव दिए ।

Photo20180627Bara1

जिल्ला प्रहरी कार्यालयकी सई लालुमाया श्रेष्ठले घरेलु हिंसाका घटनाका आरोपितलाई कानुनको दायरामा ल्याउने कार्य भइरहेको बताइन् ।

इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार असार १२ गते आयोजित कार्यक्रममा सन् २०१८ जनवरीदेखि जुनसम्म सङ्कलित १५ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमा १५ वटै घटना घरेलु हिंसाका अभिलेख गरिएको थियो ।

Photo20180627Bajhang

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले ग्रामीण क्षेत्रका घटनाहरूलाई समेट्नका लागि स्थानीय तहसँग समन्वय तथा सहकार्य गरेर जान सकेमा सबै घटनाहरू नछुट्ने बताए ।

उनले आर्थिक, सामाजिक र सास्कृतिक अधिकारसँग सम्बन्धित सवालहरूलाई पनि उजागर गर्न सुझाव दिए ।

जिल्ला अदालतका श्रेस्तेदार बसन्तराज जोशीले जिल्ला अदालतमा पनि मानव अधिकारसँग सरोकार राख्ने घटनाहरू आउने भएकाले इन्सेकले त्यस प्रकारका घटनाहरूलाई नछुटाउनका लागि समन्वय गरेर अगाडि बढ्न सुझाव दिए ।

Photo20180627Bajhang1

जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले घरेलु हिंसाका घटनाहरू मिलापत्र मै सिमित गरिएकाले त्यसले महिलाहरूमा परेको असरलाई पनि सार्वजनिक गर्न सुझाव दिइन् ।

जयपृथ्वि नगरपालिकाका उपमेयर जुना जाग्रिले आफूहरू भरखरै निर्वाचित भएर आएको र न्याय निरूपणका सम्बन्धमा समस्या भएकाले नगरपालिकामा आउने घटनाहरू जिल्ला प्रहरी कार्यालयमा पठाउने गरेको बताउदै इन्सेकले खाद्य, स्वास्थ्य र शिक्षासँग सम्बन्धित समस्याहरूलाई पनि प्रलेखीकरण गर्न सुझाव दिइन् ।

अनलाइन डेस्क

अन्य

भिडियो