अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबीचको समन्वय बैठक असार १२ गते डडेल्धुरामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न बनाउनका लागि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग जोडिएर सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गर्न आवश्यक रहेको बताए ।
उनले एक अर्को निकायलाई आरोप लगाउनुभन्दा नागरिकका समस्यालाई बुझेर सेवाप्रदायक निकायले कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका कृष्णराज ओझाले क्षेत्रीय मेडिकल स्टोरबाट समयमा औषधि नपठाउनाले जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहेको बताए । ‘क्षेत्रीय मेडिकल स्टोरबाट औषधि त आउँछ । तर, एक दुई महिनापछि म्याद सकिने औषधिहरू जिल्लामा पठाउँछन् । जिल्लाबाट सम्बन्धित स्वास्थ्य संस्थाहरूमा औषधि पुर्याउन नपाउँदै म्याद सकिन्छ । अनि औषधि अभाव हुन्छ ।’-ओझाले भने ।
पहिले स्वास्थ्य संस्थाहरूका लागि जिल्ला स्वास्थ्य कार्यालयले नै औषधि खरिद गरी पठाउने गरेको भए पनि अहिले जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि सम्पुर्ण अधिकार स्थानीय तहलाई नै दिइएको तर स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीबीच समन्वय हुन नसक्दा औषधि खरिदका लागि समस्या भइरहेको समेत ओझाले बताए ।
जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका नृपनाथ योगीले डडेल्धुरामा ९३ प्रतिशत जनता अझै पनि कृषिमा आश्रति रहेको र स्थानीय तहमा खटाइएका कृषि प्रविधिकहरूलाई वडा कार्यालयमा सचिवको जिम्मेवारी दिएकाले उनीहरू सम्बन्धित ठाउँमा पुग्न नसकेको दुखेसो व्यक्त गरे ।
‘स्थानीय सरकार भइसकेपछि कर्मचारीहरूले स्थानीय सरकारको मातहतमा रहेर काम गर्नु पर्ने हुन्छ । कृषि प्राविधिकहरूलाई कृषि क्षेत्र भन्दा पनि अन्य क्षेत्रमा खटाइसकेपछि यस वर्ष डडेल्धुरामा खाद्यान्न उत्पादनमा समेत कमी आउने देखिन्छ ।’-उनले भने ।
स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीबीच समन्वयको अभाव र कर्मचारीहरूले आफ्नै तरिकाले कार्यक्रमहरू गरिरहेकाले पनि स्थानीय निकायहरूमा समस्या सिर्जना भएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले बताए । साथै उनले आगामी दिनहरूमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले समन्वय गरी कार्यक्रम सञ्चालन गरेमा समस्या सहज रूपमा निराकरण हुने समेत उिनले बताए ।
भुपेन्द्र विष्ट