अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम गरेका छन् ।
इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार असार ११ गते सदरमुकाम कुश्मामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मानव अधिकार संरक्षण तथा सम्वर्धनमा आफू दृढ रहेको बताउँदै पर्वत जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनीकरण गर्न सदैव लागिपर्ने प्रतिबद्धता जनाए ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक न्यायिक तथा अर्धन्यायिक क्षेत्रहरूका लागि मानव अधिकार घटना सर्वेक्षणमा प्रभावकारी बन्दै आएको बताउँदै शिक्षा, खानेपानी, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा हुने मानव अधिकार हनन्का घटनाहरूलाई पनि पुस्तकमा बृहत् रूपमा समेट्न उनले सुझाव दिए ।
जिल्ला अदालतका श्रेस्तेदार दयाराम पोख्रेलले पर्वतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बलात्कारका घटनाहरू बढेको बताउँदै त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सचेत वर्गहरूले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले बलात्कार तथा जघन्य अपराधका घटनामा संवेदनशीलतालाई मध्यनजर गर्दै कारबाही प्रक्रिया अघि बढाउने गरेको बताए ।
पर्वत प्रतिनिधि थापाले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका २० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गरेका थिए । जसमध्ये घरेलु हिंसाका १३ ओटा, बलात्कारका तीन ओटा, बलात्कार प्रयासको एउटा, हत्या र भौतिक सम्पति क्षतिका एक/एक ओटा घटना रहेका छन् ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार असार १० गते तानसेनमा सम्पन्न कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले सङ्कलन गर्ने घटनाहरूले पाल्पा जिल्लाको मानव अधिकारको अवस्था झल्काउने बताए ।

उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँगै स्थानीय तहहरूमा भइरहेका विकास निर्माणका योजनाहरूको ढिलासुस्तीलगायतका विषयसमेत प्रतिवेदनमा समावेश गर्न सुझाव दिए ।
इन्सेक पाल्पा प्रतिनिधि तिमल्सिनाले ६ महिनाको अवधिमा सङ्कलन गरिएका १७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण प्रस्तुत गरे ।
जसमध्ये घरेलु हिंसाका ११, बहुविवाहका तीन, बलात्कार प्रयास र बलात्कारका दुई/दुई, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी एउटा रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी दिल्लीराज पन्तले इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तकका नाममा गर्ने प्रलेखीकरण महत्वपुर्ण दस्तावेज भएको बताउँदै वर्षपुस्तकमा शिक्षा, स्वास्थ्य र नागरिकको दैनिक जीवनमा जोडिएका विषयलाई पनि राख्नुपर्ने बताए ।
नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले बेवारिसे अवस्थामा रहेका महिला तथा सडक बालबालिकाको अवस्था तथा उनीहरूको सङ्ख्या पनि वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिए ।
अनलाइन डेस्क