INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार ११ गते विदुरमा नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले अदालतले मानव अधिकार संरक्षणको लागि खेल्नु पर्ने भूमिका निर्वाह गरिरहेको बताए ।

Photo20180625Nuwakot

नागरिकको अधिकारको संरक्षण तथा कानुनी संरक्षणका लागि अदालतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले न्याय सम्पादनको कामहरू छिटो छरितो रूपमा गरिने बताए ।

‘प्रक्रिया पुरा गर्दा केही न्याय सम्पादन ढिला भएको पनि हुनसक्छ । छिटो न्याय दिने नाममा गम्भीर नहुँदा अन्याय पनि हुनसक्छ । त्यसैले न्याय सम्पादनमा गम्भीर हुनुपर्छ’-उनले भने ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले प्रहरी मानव अधिकार संरक्षणमा लागिरहेको बताउँदै हिरासतमा समेत कुनै गम्भीर घटना नहोस् र भई हालेमा को दोषी हो भनी थाहा पाउनका लागि सीसी क्यामेरा जडान गरिएको जानकारी दिए । अहिले प्रहरी हिरासतमा, बयानका क्रममा यातना दिने जस्ता कार्य बन्द भएको उनले बताए ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष देवराज कँडेलले प्रहरी, अदालत र प्रशासन जस्ता निकायमा परेका मुद्दा, उजुरीको मात्र नभई सामाजिक रूपमा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाहरूको पनि खोजी गर्नु पर्ने बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका १९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गरेका थिए । अभिलेखित घटना अनुसार हत्याका चार, बलात्कारका आठ, बलात्कार प्रयासका पाँच, बहुविवाहको एउटालगायतका रहेका छन् ।

नवदीप श्रेष्ठ

अन्य

भिडियो