INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँ कार्यालयको आयोजनामा जेठ २२ गते काभ्रेको धुलिखेलमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले इन्सेककर्मी सरकारको प्रतिस्पर्धी नभएर सहयोगी भएकाले मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा कार्य गर्नुपर्ने बताए । स्थानीय तहको निर्वाचन भइसकेको र अब स्थानीय तहमै सरोकारवाला निकायका प्रतिनिधि रहेकाले काम गर्न सजिलो भएको उनको भनाई छ ।

दिगोविकास लक्ष्य पुरा गर्न र सहस्राब्दी विकास लक्ष्य पुरा गर्नका लागि इन्सेककर्मीले महत्वपूर्ण् योगदान पुर्‍याउनुपर्नेमा उनको जोड छ ।

मानव अधिकार पैरवी कार्यक्रमकी प्रमुख सम्झा श्रेष्ठले संस्थाको कार्यक्रमहरूले ल्याएको परिवर्तनको अभिलेख गर्न जिल्ला प्रतिनिधि र सहजकर्ताहरूलाई सुझाव दिइन् । स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने कार्यक्रमको उपलब्धि र चुनौतिका विषयमा समीक्षा गरेर स्थानीय तहमा मानव अधिकार अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिइन् ।

पिएमइ अधिकृत सुवेक्षा खड्काले मानव अधिकार अभियानलाई स्थानीय स्तरबाटै बलियो बनाउनु पर्नेमा जोड दिइन् । इन्सेकले गर्ने कार्यक्रमले धेरै उपलब्धिहरू हासिल गरिएकोले उक्त उपलब्धि प्रतिवेदनमा उल्लेख गरी पठाउन सुझाव दिइन् ।

लेखा अधिकृत भार्गव काफ्लेले कार्यक्रम सञ्चालनका बखत आर्थिक शुसासन कायम गर्न र आर्थिक मितव्ययितता अपनाउन सुझाव दिए ।

इन्सेक कार्यालय काठमाडौँका कार्यक्रम फोकल पर्सन गणेश भण्डारी र प्रलेख अधिकृत राजु पासवानले समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरी कार्यक्रमको उपलब्धिहरूको दस्तावेज र सिकाइ उपलब्धिहरू दुरूस्त राख्न आग्रह गरे ।

कार्यक्रममा धनुषा, बारा, पर्सा, दोलखा, धादिङ र सिन्धुपाल्चोक जिल्लाका जिल्ला प्रतिनिधि र सहजकर्ताले ६ महिनामा सम्पन्न गरेका क्रियाकलाप र उपलब्धिका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

1

1

1

1

सीताराम अधिकारी

अन्य

भिडियो