INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको स्थानीय तहस्तरीय अनुगमन र अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको दुई स्थानीय तहमा अनुगमन तथा अन्तरक्रिया गरिएको छ ।

Photo20180515Sunsari (1)

इनरुवा नगरपालिका-७ चाँदवेला तथा गढी गाउँपालिकाको औरावनीमा स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक अनुगमन तथा अन्तरक्रिया कार्यक्रम वैशाख ३१ गते सम्पन्न गरिएको हो ।

सो अवसरमा प्रतिकृया दिँदै सेवाप्रदायक निकायका अधिकारीहरूले अधिकारको प्रत्याभूति गराउन जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । गढी गाउँपालिका-२ औरावनीका वडा अध्यक्ष अरुण चौधरीले यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले निशुल्क र गुणस्तरीय शिक्षाका लागि वडा कार्यालय र गाउँपालिका प्रयासरत रहेको बताए ।

Photo20180515Sunsari (2)

औरावनी वडास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष युवराज चौधरीले आफ्नो साविकको गाविस हुँदा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे जागरुक नभएको अवस्थामा कार्यक्रमको प्रभावले एक वर्षयता सबैको प्रयासले शिक्षा, स्वास्थ्य र खाध्य अधिकारको प्रत्याभूति गराउन सफल भएको बताए ।

मानव अधिकार निगरानी समूहका उपाध्यक्ष मिना चौधरीले सबैको मानव अधिकार सुनिश्चितताका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कार्यक्रम असल साथी बनेको बताइन् ।

Photo20180515Sunsari (3)

मानव अधिकार निगरानी समूहका दशरथ शर्माले निशुल्क शिक्षा भनिएपनि घुमाउरो पाराले विद्यालयहरूले शुल्क लिइरहेको, अझै पनि सबै बालबालिका विद्यालयसम्म पुग्न नसकेको, आधारभूत स्वास्थ्य सेवाका पूर्वाधारको विकास हुन नसकेको र हरेक खाद्य सामग्रीमा मिसावट तथा विषादीको प्रयोग गरिएको पाइएको भन्दै खाद्य अधिकार, शिक्षा र स्वास्थ्यमा जोखिम बढ्दै आएको गुनासो गरे ।

अनुगमनका क्रममा इन्सेक केन्द्रीय कार्यालय बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले सुनसरीको गढी गाउँपालिका-२ औरावनी र इनरुवा नगरपालिका-७ चाँदवेलामा शिक्षा, खाद्य तथा स्वास्थ्य अधिकारको बारेमा सरोकावालाहरूले कार्यक्रम प्रभावकारी रहेको बताएको जानकारी दिइन् ।

Photo20180515Sunsari (4)

इन्सेकले यहाँ शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा अनुगमन गरेको इन्सेक विराटनगर कार्यालयकी कार्यक्रम अधिकृत बागमती कट्टेलले बताइन् । इन्सेक विराटनगर कार्यालयका संयोजक सोमराज थापाले शिक्षाप्रतिको सचेतना बढेको पाइएको जानकारी दिए । थापाका अनुसार औरावनी र चाँदवेला क्षेत्रका मानव अधिकार निगरानी समूह, स्वास्थ्य चौकी र विद्यालयका सरोकारवालाहरूले छलफल गर्ने र समस्या समाधानका लागि पहल र प्रयास गर्ने गरेका छन् ।

इनरुवा-७ चाँदवेलामा स्थानीय नेपाल राष्ट्रिय हरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कासीराम चौधरीले विद्यालयमा गठित बाल अधिकार चेतना समूह आफ्नो कार्यक्रम आफैँ गर्ने गरी सक्रिय बनेको बताए ।

गाउँ तथा विद्यालयमा शिक्षाको प्रचारसँगै बालबालिकाहरूले आफ्नो भूमिका आफैँ निर्वाह गरेको र कार्यक्रमहरू समेत आफ्नो सहभागितामा आफैँ गर्न थालेको संरक्षक शिक्षक शुभकलाल सरदारले जानकारी दिए । शिक्षक सरदारका अनुसार चेतना समूहमा आबद्ध बालबालिकाहरूले आफ्नो कार्यक्रम आफैँ गर्नुका साथै प्रार्थना, राष्ट्रिय गानका कार्यक्रम समेत आफैँ गर्न थालेका छन् ।

इएलपी कार्यक्रमपछि बालबालिकाहरूले अभिभावकसँग समेत अन्तरक्रिया गर्न थालेको, नियमित बैठक बस्न थालेको, सामूहिक असल प्रतिस्पर्धा गर्न थालेको शिक्षक असोक मेहताले बताए । शिक्षक मेहताका अनुसार बालबालिकाहरूले विद्यालयमा अध्ययनरत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि बालभित्ते पत्रिका समेत निकाल्दै आएका छन् ।

जयकृष्ण यादव

अन्य

भिडियो