अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन् भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन् ।
मानव अधिकार निगरानी समूहले सखुवाप्रसौनी गाउँपालिका-१ मधुवन मथवलमा वैशाख २६ गते आयोजना गरेको परियोजनासम्बन्धी स्थानीय स्तरको सल्लाहकारहरूको बैठकमा उनले यस्तो बताएका हुन् ।
व्यवस्थापन प्रमुख पराजुलीले स्थानीय स्तरमा जनताको आम्दानी जति बढ्छ । त्यति नै उनीहरूले कर तिर्ने भएकाले स्थानीय सरकार बलियो हुने बताए । यस्तो खाले अवस्थाको निर्माणका लागि स्थानीय सरकारले योजना ल्याउनु पर्नेमा उनले जोड दिए ।
‘नागरिक आर्थिक रुपमा कमजोर भए दुःखी हुन्छन् । नागरिक दुःखी हुँदा सरकार कमजोर हुन्छ ।’-पराजुलीले भने-‘जनताको आवश्यकताको आपूर्ति नहुँदा सरकार कमजोर हुन्छ ।’
उनले सरकारले आफनो सीमा क्षेत्र भित्र सबै विद्यार्थीले परीक्षामा ए प्लस ल्याउने बातावरण बनाउन आवश्यक रहेको बताए । उनले कोही नागरिक स्वास्थ्य उपचारको लागि अन्यत्र जाने अवस्था नआओस् भन्ने बातावरण बनाउन जरुरी रहेको बताए ।
उनले हिजो सिंहदरवार र सदरमुकाममा स्थित अड्डाहरूमा रहेको अधिकार अहिले स्थानीय तहमा पुगेको चर्चा गर्दै अब कामका लागि सदरमूकाम वा केन्द्रमै जानु पर्ने अवस्था नरहेको बताए ।
कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले किसानको आय बढाउने त्यसको लागि सिचाइँको ब्यवस्था गर्न लागिएको जानकारी दिए ।
उनले जनता धनी भएमात्र गाउँपालिकाले राम्रो काम गर्ने बताउदै आफू सुशासनको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताए । उनले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको र आफूलाई समेत सहयोग पुगेको चर्चा गर्दै अन्य वडामा पनि यस्ता कार्यक्रम बिस्तार गर्न आग्रह गरे ।
शिक्षा, खाद्य तथा स्वास्थ्य नीतिबारे स्थानीयस्तरमा अन्तरसम्वाद
पटेर्वा सुगौली गाउँपालिका-२ गादीमा शिक्षा, खाद्य तथा स्वास्थ्य नीति बारे स्थानीय स्तरको अन्तरसम्वाद वैशाख २६ गते सम्पन्न भएको छ ।
सुगौली गाउँपालिका-२ का वडा अध्यक्ष तथा मानव अधिकार निगारानी समूहका अध्यक्ष विजय गैरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष तथा समूहका अध्यक्ष विजय गैरेले इन्सेकको परियोजनाले गादीमा स्वास्थ्य चौकीको हस्तान्तरण र त्यसमा एमबिबिएस चिकित्सक ल्याव र ल्याव प्राविधिकसहितको ब्यवस्था गर्न आफूहरू सफल भएको बताए ।
वडाले आफ्नो आन्तरिक स्रोतको परिचालन गरेर यस्तो ब्यवस्था गरेको उनले बताए । यो गर्न मानव अधिकार निगरानी समूहको ठुलो देन रहेको उनले बताए ।
उनले समूहको तर्फबाट पशु, स्वास्थ्य र शिक्षाका सन्दर्भमा बुझाइएको माग पत्रको आधारमा पशु स्वास्थ्य अन्तर्गत वडा भरिका पशुलाई भ्याक्सीन लगाइएको र निकट भविष्यमा निःशुल्क औषधि वितरण गर्ने गरी पशुस्वास्थ्य शिविरको आयोजना गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन प्रमुख प्रेम पराजुललीले स्थानीय सरकारले बस्तुको उत्पादनका माध्यमले नागरिकको समृद्धिको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
कृषि, शिक्षा र स्वास्थ्यमा राज्यले गरेको ब्यवस्था नागरिकले उपभोग गर्न नपाएको प्रति चिन्ता ब्यक्त गर्दै उनले मानव अधिकार निगरानी समूहले उपभोगको बातावरण बनाउन सहयोगीको भूमिका निर्वाग गरेको बताए ।
बाल अधिकार चेतना समूहका पदाधिकारीसँग छलफल
इन्सेक अनुगमन टोलीले वैशाख २६ गते नै श्री नेपाल राष्ट्रिय लक्ष्मण चन्द्रज्योती माविमा रहेको बाल अधिकार चेतना समूहका पदाधिकारीसँग छलफल गरेको छ ।
बाल अधिकार चेतना समूहमा सङ्गठित भएका विद्यार्थीहरूलाई दत्तचित्त भएर बाल अधिकारका क्षेत्रमा लाग्न इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन प्रमुख पराजुललीले सुझाव दिए ।
बाल अधिकार चेतना समूहले निर्माण गरेको कार्ययोजना र सञ्चलान भएका कार्यक्रमको विषयमा छलफल भएको थियो ।








के.सी.लामिछाने