कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नागरिक समाज, सामाजिक संस्थाले ल्याउने विषय र कार्यक्रमहरूमा आफू सकारात्मक रहेको बताउँदै नागरिक समाजसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने बताएका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले फागुन ११ गते सिन्धुलीमाढीमा आयोजना गरेको वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर तथा चुनौतीहरू विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नागरिक समाजको सहयोग बिना विकासका कामहरू अगाडि बढाउन नसकिने हुँदा नीति, नियम र कानुनको अधिनमा रही समन्वयलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले जनअपेक्षा अनुसारको काम नागरिक समाजको सहकार्यमा गर्न सके विकासका काम अगाडि बढाउन सहज हुने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले जबाफदेहिता र जिम्मेवारी ३६० डिग्रीको कोणमा घुम्नसक्ने वातावरण सृजना हुनुपर्नेमा जोड दिए । उनले नागरिक समाज, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारको समन्वय र सहकार्यमा मात्र उक्त अवस्था सृजना हुने बताए ।
उनले स्थानीय सरकार र नागरिक समाजको भूमिका अन्योन्याश्रति हुने बताउँदै राम्रा कामको उजागर गर्ने र गलत कामलाई सुधार गर्नुपर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । ढकालले स्थानीय स्तरमा आउने स्रोत र साधनको परिचालन र बाँडफाँडमा स्थानीय सरकार, नागरिक समाज र सामाजिक सङ्घसंस्था मिलेर गर्न सकेमा विकासलाई अगाडि बढाउन सहज हुने बताए ।
गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष वेदराज दाहालले सङ्घसंस्थासँग स्थानीय सरकारले समन्वय गरेर स्रोतको परिचालन गर्न सके विकासलाई फलदायी बनाउन सकिने बताए ।
कार्यक्रममा सहभागिहरूले सहभागिता, जबाफदेहिता र पारदर्शितामा सबै जिम्मेवार बन्न सकेमात्र साझा उद्देश्य पुरा हुने हुँदा यतिबेला अवसर र चुनौती दुवै आएको बताए ।
बिमला पाण्डे