INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सन् २०१७ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम सुनसरी र बाजुरामा सम्पन्न गरिएको छ ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार पुस ७ गते सम्पन्न कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले इन्सेकले देशभरको मानव अधिकारको अवस्थाको विश्लेषण गरेर नेपाल मानव अधिकार वर्षपुस्तक निकाल्दै आएको बताए । पुस्तकमा समेटिने विवरणलाई तथ्यपूर्ण बनाउन पूर्व समीक्षा कार्यक्रम गर्दै आएको बताए ।

Photo20171223Sunsari

कार्यक्रममा जिल्ला प्रसाशन सुनसरीका प्रशासकीय अधिकृत रोहणी आचार्यले गत वर्षको वर्षपुस्तकमा समेटिएका घटनाहरूको न्याय निरूपण कसरी भयो ? ती घटनामा कतिले न्याय पाए ? कतिले सफाइ पाए ? त्यसको समेत विष्लेषण गरेर समेटदा वर्षपुस्तक अझ प्रभावकारी हुने सुझाव दिए ।

अधिवक्ता प्रदिप काफ्लेले इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्रथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि ढकालले सन् २०१७ मा सुनसरीमा सङ्कलन गरेका ५४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरे । जसमा १६ जना बालिका बलात्कृत भएको, ३५ ओटा महिला अधिकार उल्लङ्घनलगायतका घटना समेटिएको छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदम सिंहका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक समीक्षा जिल्ला सदरमुकाम मार्तडीमा पुस ८ गते गरिएको छ ।

Photo20171223Bajura

इन्सेक प्रतिनिधि सिंहले सन् २०१७ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरेको घटनाहरूको प्रस्तुत गरेको थियो । एक वर्षको अवधिमा घरेलु तथा लैङ्गिक हिंसाका २९, बलात्कारका चार, बलात्कार प्रयासका तीन, जातीय छुवाछुतको एउटालगायतका घटना सङ्कलन गरिएको जनाइएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तकलाई जिल्लाको नभई देशकै दस्तावेजको रूपमा भएको बताए ।

घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामीकता दिनुपरेको जिल्ला प्रहरी कार्यलयका नम्सेसिंह तिंकारीले बताए ।

अनलाइन डेस्क

अन्य

भिडियो