अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागलुङ र प्यूठान जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार कार्यक्रमका सहभागीहरूले इन्सेकले मानव अधिकार उल्लङ्घन र अपराधलाई छुट्याएर हेनुपर्ने बताएका थिए ।

इन्सेकले वर्षेनी प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक देशकै मानव अधिकारको अवस्था विश्लेषण गर्न सकिने ठोस माध्यम भएकाले वर्ष पुस्तकमा समावेश हुने विषयहरूको गम्भिरताको ख्याल गर्नुपर्ने उनीहरूको भनाई थियो ।
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले मानव अधिकारको सिमा र क्षेत्र नभएको भन्दैं मानव अधिकार उल्लङ्घन हुन नदिन सबै सचेत बन्नुपर्ने बताए ।
उनले बागलुङमा घरेलु हिंसाका घटनाहरू दिन प्रतिदिन बढ्दै गएको भन्दै हिंसाका घटनाको न्यूनीकरण व्यक्तिको नैतिकतामाथि निर्भर रहने बताए । ‘घरेलु हिंसाका घटनाहरूमा राज्यको पहुँच पुग्दैन । यो नैतिकताले व्यवस्थापन गर्ने विषय हो । यसलाई कानुनले व्यवस्थापन गर्न सक्दैन । त्यसैले यस्ता घटनाको न्यूनीकरणको लागि सबै नैतिकवान बन्नै पर्छ ।’-पाण्डेयले भने ।
कार्यक्रममा इन्सेकले सन् २०१७ मा बागलुङ जिल्लामा रहेर अभिलेख गरेका ८२ ओटा घटनाहरूमाथि छलफल गरिएको थियो । इन्सेकको अभिलेखमा सन् २०१७ मा घरेलु हिंसाका ६२, बलात्कारका नौ, बलात्कार प्रयासका चार, राजनीतिक अधिकारसम्बन्धी चार, मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी दुई, बहुविवाहको एउटा गरी ८२ ओटा घटनाहरूको अभिलेख गरिएको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिइन् ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि प्यूठान जिल्लामा २०१७ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको प्रकाशन पूर्व समीक्षा पुस ४ गते खलङ्गामा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्लास्तरीय मानव अधिकार सञ्जालकी संयोजक पार्वता आचार्यले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर वर्षपुस्तक प्रकाशन गर्दा मानव अधिकारको क्षेत्रमा राज्यका निकायलाई सम्वेदनशील हुने बताइन् ।
इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितलाई न्याय दिने महत्वपूर्ण दस्तावेजको रूपमा खडा हुने गरेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका कार्यबाहक अध्यक्ष एल वी थापाले बताए ।
इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेद्वारा प्रस्तुत घटनामा हत्याको एक, गिरफ्तारका दुई, बाल अधिकार अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका दुई, महिला विरूद्ध हुने सबै प्रकारका हिंसा अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका पाँच, हिरासतमा मृत्यु एक, राजनीतिक झडप एक घरेलु हिंसाका १९ गरी जम्मा ३१ ओटा घटना समेटिएका छन् ।
अनलाइन डेस्क