इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ ।

तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बालबालिकाको अधिकार सूचित गरिएमात्र पनि मुलुकको समग्र विकासमा टेवा पुग्ने बताइन् ।
बाल अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले खेल्दै आएको भुमिकाको चर्चा गर्दै फोकल पर्सन मल्लले उनीहरूको अधिकार स्थापित गर्ने प्रमुख दायित्व राज्यको रहेको उल्लेख गरिन् ।
तालिममा बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, २०७२ को संविधानमा शिक्षाको अधिकार र बाल मनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल अधिकार प्रबर्द्धनमा स्थानीय निकायको भुमिका तथा विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणालगायतका विषयमा सहजीकरण हुने बताइएको छ ।
तालिमको सहजीकरण जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जिल्ला समन्वय समिति सुर्खेतका सामाजिक विकास अधिकृत टङ्क लामिछाने, अधिवक्ता नन्द भण्डारी, इएलपी परियोजना फोकल पर्सन सरस्वती मल्ल, अधिवक्ता ललित थापा र इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता दुर्गा थापाले सहजीकरण गर्ने जनाइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने सो तालिममा दैलेखका रेडक्रस मावि भुर्ती, सरस्वती मावि तरङ्गा, त्रिवेणी मावि चुप्रा, देवीस्थान मावि डुङ्गेश्वर, सुर्खेतका जनज्ञान भण्डार मावि, नेपाल आधारभुत निमावि रपट, नेपाल आधारभुत निमावि भालुखोला र सरस्वती मावि सिमघाटमा गठित बाल अधिकार चेतना समूहका २४ जना सदस्यको सहभागिता रहेको छ ।
दुर्गा थापा