INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारप्रति सबै सचेत हुनुपर्छः स्थानीय विकास अधिकारी

जिल्ला समन्वय समिति दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानव अधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजना सल्लाहकार समितिको बैठकमा उनले सेवाप्रदायकहरू अझ बढी सचेत हुनु पर्ने बताएका हुन् ।

स्थानीय विकास अधिकारी पन्थीले सेवाप्रदान गर्नु पर्ने निकायले सेवा प्रवाहमा ढिलासुस्ती गर्नु, आलटाल गर्नु वा पक्षपात गर्नु मानव अधिकार उल्लङ्घन भएको औँल्याए । उनले भने-‘हामी अरूले गरेको गल्ती औँल्याउछौँ । तर, आफूले निर्वाह गर्नुपर्ने भूमिका भुलेका हुन्छौँ ।’

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जकी कार्यक्रम संयोजक सरस्वती मल्लले इएलपी परियोजनाले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्तिका लागि परियोजनाले लिएका उद्धेश्य र समग्र मानव अधिकारका सवालका बारेमा धारणा राखेकी थिइन् ।

सो अवसरमा परियोजनाको कार्यक्षेत्र डुङ्गेश्वर गाउँपालिका वडा नं. १ र ६ का स्थानीय सेवाग्राही, जनप्रतिनिधि समेतले आफ्नो क्षेत्रमा कृषि, स्वास्थ्य र शिक्षासम्बन्धी स्थानीय समस्या दर्शाएका थिए । स्थानीयको जनगुनासोका विषयमा सरोकारवाला सरकारी कार्यालयका अधिकारीहरूले जबाफ दिएका थिए ।

जबाफ दिने क्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापाले सरकारले निःशुल्क औषधि, विभिन्न रोगको निःशुल्क उपचार जस्ता लोकप्रिय कार्यक्रम ल्याएपनि त्यस अनुसार बजेट व्यवस्था नहुँदा नीति अनुसार सेवासुविधा पुर्‍याउन नसकिएको बताए ।

निमित्त जिल्ला शिक्षा अधिकारी भीमप्रसाद शर्माले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली प्रभावकारी हुन नसकेको स्वीकार गर्दै विद्यालय व्यवस्थापन समिति र नागरिक समाजको सजगता जरुरी रहेको औँल्याए ।

अमर सुनार

अन्य

भिडियो