INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य सेवा प्रदायक र सेवाग्राहीबिच छलफल सम्पन्न

इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इएलपी अन्तर्गत जेठ ३१ गते विराटनगरमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच स्वास्थ्य अधिकारको सवाल र सेवाग्राहीको बुझाई विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

Photo20170614Morang

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्ला तथा गाविस स्तरका स्वास्थ्य सेवा प्रदायक संस्था र सेवाग्राहीबिच छलफल भएको हो ।

छलफलमा सहभागिहरूले स्वास्थ्य सस्थामा औषधि अभाव, स्वास्थ्यकर्मी समयसम्म नबस्ने, सर्वसाधारणमा सरकारी स्वास्थ्य सेवाप्रति विश्वास नभएको, विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पनि समय अगाडिनै डाक्टरहरू निस्कने र क्लिनिक जानेलगायतका समस्या रहेको बताए ।

सहभागीहरूले स्वास्थ्य संस्था सञ्चालनका लागि बनेका व्यवस्थापन समितिको निष्क्रियताले पनि खबरदारी गर्ने र स्वास्थ्य सेवा चुस्त दुरूस्त नबनेको बताए ।

कार्यक्रममा कोशी अञ्चल अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोशन पोखरेलले ओपिडीमा बिरामी सकिएपछि पनि २ बजेसम्म क्लिनिक नजान भनेर डाक्टरहरूलाई आग्रह गरेकोले अहिले सुधार हुँदै गरेको बताए ।

उनले बिरामीको धेरै चाप भएको र जनशक्ति र स्रोतको अभाव भएका कारण केही समस्या आउने गरेको बताए । अस्पतालमा आउने विपन्न वर्गका बिरामीलाई सेवामा छुट, सुलभ औषधि पसल भएकोले सजिलो भएको मेसु पोखरेलको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख हरिबहादुर खत्रीले औषधि अभाव नभएको बताउँदै जिल्लामा आउने औषधि र माग हुँदाको समय केही दिन फरक पर्दा त्यस्तो देखिएको बताए । उनले समयसम्म स्वास्थ्य संस्थामा नबस्ने, निशुल्क औषधि बाहिर बेचेको पाए कारबाही गरिने बताए  ।

त्यसैगरी जिल्लास्तरीय मानव अधिकार निगरानी समिति मोरङका संयोजक त्रिलोक न्यौपानेले स्वास्थ्य धेरै सम्वेदनशील भएकोले नै मौलिक हकमा राखिएकोले यसमा कसैले पनि खेलवाड गर्न नहुने बताए ।

इन्सेक क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापा राज्यमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले पनि मानव अधिकारकर्मीहरूले सरोकारवालाई समयसमयमा घचघच्याउनुपर्ने बताए ।

इन्दिरा भट्टराई

अन्य

भिडियो