घरको मापदण्ड बारे बेलैमा थाहा नपाउँदा अहिले अनुदान रकम लिनबाट वञ्चित हुनु परेको पञ्चकन्या गाउँपालिका-२ कविलासका भूकम्पपीडितहरूले बताएका छन् ।
जेठ २९ गते पञ्चकन्या गाउँपालिका-२ को कविलासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले पक्की घर बनाउँदा पिल्लर कुन साइजको भन्ने थाहा नहुँदा अहिले समस्या भएको बताएका छन् ।

पञ्चकन्या-२ कविलासका भूकम्पपीडित देवेन्द्र श्रेष्ठले पहिले प्राविधिकहरू गाउँमा नआउँदै घर बनाएको तर, पिल्लर ९/१२ साइजको राखेकोमा अहिले प्राविधिक इन्जिनियरहरूले १२/१२ साइजको पिल्लर भए मात्र अनुदानको दोस्रो किस्ता पाइने भनेकोले समस्या भएको बताए ।
‘पहिलो थाहा भएन घर बनाइहालियो । भूकम्पले घर पनि भत्केको हो । तर, पिलर नापेर पैसा नदिने भए । यहाँ ३० भन्दा धेरै यस्तो घर रहेको छ ।’-उनले भने-‘ढुङ्गा माटोको घर भन्दा पिलरवाला घर बलियो नै होला । यस आधारले पनि सरकारले अनुदान दिनु पर्छ ।’

पञ्चकन्या-२ का वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले पुनर्निर्माणको गतिलाई तीव्रता दिने र लाभग्राहीको समस्यालाई समाधान गर्न पहल गर्ने बताए ।
कार्यक्रममा सो वडाका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सृजन सुवेदीले पिल्लरवाला घर बनाउँदा पिल्लरको साइज १२/१२ भएकोले मात्र अनुदानको दोस्रो किस्ता पाउने, त्यो भन्दा सानो साइजले नपाउने स्पष्ट व्यवस्था भएको बताए । उनले भने-‘अहिलेसम्म १२/१२ साइजको पिल्लर बनाउनेले मात्र अनुदान पाउने प्रावधान छ । पछि परिवर्तन भएछ भने छुट्टै तर अहिले यसलाई दोस्रो किस्ताको लागि सिफारिस गर्न सकिन्न ।’

इन्जिनियर सुवेदीले अनुदान पाउनको लागि सरकारले तोकेको मापदण्ड अनुसारको नै घर बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा सचिव महेन्द्रबहादुर नेपालले भूकम्प पछिको अवस्था र लागग्राहीको बारेमा जानकारी दिए ।
साविकको कविलास गाविस हाल पञ्चकन्या गाउँपालिका-२ मा भूकम्पबाट आठ जनाको ज्यान गएको थियो । १ हजार ९६ घर भत्किएकोमा लाभग्राहीको सूचीमा १ हजार ४ घर परेको छ । १ सय ३६ ओटा गुनासो दर्ता भएको छ । हालसम्म ९ सय ७१ जनाले पहिलो किस्ताको रकम पाएका छन् भने १ सय जनाले दोस्रो किस्ताको रकम समेत पाइसकेको वडा सचिव नेपालले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल, पञ्चकन्या गाउँपालिकाका कार्यकारी अधिकृत नरेश पुडासैनी, नेकपा एमालेका स्थानीय नेता लेखप्रसाद बोहोरा लगायतले भूकम्प पछिको पुनर्निर्माणको अवस्था बारे आआफ्नेा धारणा राखेका थिए ।
नवदीप श्रेष्ठ