INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७४ साउन ३१ गते

२०७४ साउन ३१ गते

प्रेस विज्ञप्ति

 

विगत केही दिनदेखिको भारी वर्षाका कारण देशभर ९१ जनाको मृत्यु हुनुका साथै ३८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । प्राकृतिक घटनाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दछौँ । घटनामा मृत्युवरण गरेका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । बाढी पहिरोका कारण आमनागरिकलाई परेको पीडाप्रति समानुभूति रहेको जनाउँदै हामी राहत, उद्धार, बिरामीको उपचार र विस्थापितहरूको पुनर्स्थापना गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ ।

विपत्तिको सामना गर्न राज्यको एकल प्रयासमात्र पर्याप्त हुँदैन । यस्तो बेला उपलब्ध गराइने सेवा र राहतमा एकद्वार प्रणालीका नाममा गैरसरकारी संस्थाहरूले गर्न लागेको सहयोगप्रति रोक लगाउने गरी सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ । सरकार आफै पनि समयमा उद्धार, राहत, उपचार तथा पुनर्स्थापना गर्न असमर्थ रहने र नागरिक संस्थाहरूलाई पनि तत्तत् कार्य गर्न रोक लगाउने मनसायबाट प्रेरित हुँदा पीडितले झनै पीडा भोग्नुपर्ने अवस्था आउन सक्छ । राहत वितरणको प्रणालीलाई पारदर्शी, सहभागितामूलक बनाएर मात्र राज्यसँगको साझेदारीलाई स्थापित गर्न सकिन्छ ।

कतिपय प्राकृतिक विपत्ति मानव सृजित पूर्वाधारबाट भएका हुन्छन् । नेपाल भारत सीमानामा बनाइएका बाँधहरू, अव्यवस्थित विकास पद्धति तथा चुरे तथा महाभारत पर्वत श्रृङ्खलामा भएको विनाश हालको बाढीको पहिरोको मूल कारण हो । यस्ता विषयमा ध्यान दिन सके आगामी वर्षहरूमा हुने यस्ता क्षतिलाई न्यूनिकरण गर्न मद्दत पुग्ने हामीले अपेक्षा गरेका छौँ ।

विपत्को यस घडीमा प्रभावकारी उद्धार र राहतका साथै प्रभावकारी संयन्त्रमार्फत प्रभावितहरूको धनजनको सुरक्षा, पुनर्स्थापनाका कार्यमा तदारुकता देखाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहान्छौँ । विपत्ले हामीलाई शिक्षा पनि दिन्छ । सन् १९५३ यता बारम्बार कोशीको बाढी र अन्य प्राकृतिक विपत्तिले दिएको शिक्षालाई दीर्घकालीन भूउपयोग नीति बनाएर अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो