२०७२ साउन २० गते
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक प्रत्याभूत गर
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा दलितका अधिकार कटौती गरिएको भन्दै त्यसलाई सच्याउन दबाब दिने उद्देश्यले काठमाडौँको बिजुलीबजारमा विरोध प्रदर्शनमा गरिरहेका विभिन्न दलका नेता तथा दलित सभासद्हरू र दलित अधिकारकर्मीमाथि प्रहरीले साउन १९ गते गरेको धरपकड तथा दमनको भर्त्सना गर्दछौँ ।
इन्सेकले अनुगमन गरिरहेको यस घटनामा प्रहरीको लाठी लागेर सभासद्हरू मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार, दलित अधिकार सङ्र्घष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, दलित अधिकारकर्मीहरू कमला हेमचुरी, सरु सुनार, गणेश विके,पद्म सुन्दास लगायत घाइते भएका छन् । घाइते मध्ये कमला हेम्चुरीको खुट्टा भाँचिएको छ ।यसै गरी महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दानबहादुर कार्की, प्रहरी परिसरका डिएसपी रेवती ढकाल र बानेश्वर वृत्तका प्रहरी निरीक्षक दुर्गाबहादुर गुरुङ पनि घाइते भएका छन् ।
शान्तिपूर्ण तवरले भेला हुन पाउने अधिकार कुण्ठित हुने गरी अनावश्यक बल प्रयोग भएको यस घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै संविधान र कानुनले व्यवस्था गरेका मानवअधिकारको प्रत्याभूत गर्न सरकारसँग माग गर्दछौँ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य उपचारको आवश्यक प्रबन्ध गर्न हामी सरकारसँग माग गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष