INSEC Online

📅 २०८३ जेष्ठ २१

०७२ भदौ २४ गते

०७२ भदौ २४ गते

प्रेस विज्ञप्ति

बाँच्न पाउने अधिकारको सम्मान गर

प्रस्तावित राज्यहरूको सीमाङ्कनसम्बन्धी विवादका कारण चलिरहेको आन्दोलनका कारण मधेश तराईका केही जिल्लाको अवस्था तनावपूर्ण भएका छन् । प्रहरीको गोली प्रहारबाट महोत्तरीको जलेश्वरमा तीन जना र सप्तरीमा एकजना गरी चार जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँ घाइते भएका छन् । महोत्तरीका गम्भीर घाइतेमध्ये तीनजनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । उपचाररत घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि हामी सरकारलाई आग्रह गर्दछौँ ।

स्थिति नियन्त्रणका लागि अन्तिम विकल्पको रूपमा मात्र गोली प्रहार गर्ने अन्तर्राष्ट्रिय कानुनी मापदण्ड भए पनि हिजो भएका उपरोक्त घटनाहरूमा ती मापदण्ड अपनाइएको देखिएन । मृतक सबैको छातीमा गोली लागेको छ भने घाइतेहरूको पनि टाउको र छातीमा चोट लागेको छ ।

अर्कोतर्फ प्रदर्शनकारीले मोरङमा पाँच जना प्रहरीलाई जिउँदै जलाउने प्रयास गर्नु अत्यन्त अमानवीय कार्य हो । सीमाङ्कनका विषयमा भएका झडपहरूमा मृत्यु भएका तथा प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिएका भनिएका सबै घटनाहरूको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न हामी सरकारलाई आग्रह गर्दछौँ ।

आफ्ना मागहरू शान्तिपूर्ण तवरले राख्न पाउने आन्दोलनकारीको अधिकारको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौँ । राजनीतिक समस्याको समाधान हिंसात्मक तवरबाट होइन,शान्तिपूर्ण राजनीतिक संवादबाट खोजी गरिनुपर्छ । सीमाङ्कनका विषयमा विभिन्न समूहहरूले गरेको आन्दोलनका क्रममा हालसम्म नौ जना सुरक्षाकर्मी र एक जना बालकसहित ३१ जनाको मृत्यु भएको तथ्यलाई ध्यानमा राख्दै यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनरत पक्षलाई पुनः अनुरोध गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो