०७२ भदौ २५ गते
प्रेस विज्ञप्ति
अतिवादबाट मुक्त हुन आग्रह
विगत २९ दिनदेखि अशान्त रहेको नेपाली भूभागमा आन्दोलनकारी र सुरक्षा निकायका तर्फबाट भइरहेका ज्यादतीका बारेमा हामीले बारम्बार हाम्रो सरोकार, अपिल र विरोध अभिव्यक्त गरिआएका छौँ । यस अवधिमा मारिएका ३४ जना नेपाली नागरिकप्रति हार्दिकश्रद्धाञ्जली अर्पण गर्दछौँ ।
आमजनताको जीवन र जीवनोचित न्यूनतम अधिकारको बेवास्ता गर्दै अगाडि बढाइएको विरोधका कार्यक्रमले टीकापुर घटना तथा त्यसयता भएका घटनाहरु हेर्दा सामान्य मानवीय संवेदनासमेत गुम्दै गएको अनुभूत हुन थालेको छ । यसको पछिल्लो प्रमाणका रुपमा निहत्था र घाइते अवस्थामा अस्पतालतर्फ लगिँदै गरिएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई भदौ २५ गते एम्बुलेन्सबाट निकालेर आन्दोलनकारीले हत्या गरेको घटनालाई लिन सकिन्छ । आततायी ढङ्गले हत्या गरिने कुकर्मलाई कुनै हिसाबले पनि आन्दोलन वा विरोधको अन्योन्याश्रित अङ्गकारुपमा अथवा बदलाको भावनाले हुन गएको स्वाभाविक घटना भनियो भने त्यो निर्लज्ज ज्यादती मात्र हुनेछ । जनकपुरमा भदौ २५ गते भएको प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको हामी भर्त्सना गर्दछौँ ।
यस्ता खालका गम्भीर अपराध संलग्न व्यक्ति र तिनका मतियारहरुलाई कानुनको दायरामा ल्याउन र जनतालाई सुरक्षाको अनुभूति हुनेगरी अबिलम्ब आवश्यक प्रबन्ध गर्न हामी नेपालसरकारसँग माग गर्दछौँ । अपराधकर्मलाई अनेक बहाना दिएर दण्ड मुक्ति पाइन्छ भन्नेकसैलाई लागेको छ भने हामी प्रष्टसँग भन्न चाहन्छौँ आजको अन्तर्राष्ट्रिय कानुनको युगमा राजनीतिलाई अपराधीकरण गरेर उन्मुक्ति पाउने सम्भावना छैन । आज देशमाआमनागरिकलाई आपराधिक कर्म गर्न उक्साउने र गलत सन्देश दिएर भड्काउने काममा जो जो कृयाशील छन् तिनका बारेमा यथेष्ट अभिलेखहरु छन् ।
राष्ट्रिय नेताको उचाइमा उठेर सिङ्गो देशका बारेमा सोच्ने, पारदर्शी ढङ्गले आमनागरिकले सुन्न र बुझ्न पाउने गरी तर्क गर्ने र उपयुक्त निष्कर्षमा पुग्ने कुरामा द्वन्द्वरत सबै पक्षलाई बिलम्ब नगरी सामेल हुनु आग्रह गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष