२०७२ मङ्सिर ७ गते
प्रेस विज्ञप्ति
सप्तरीको भारदह र रुपनीमा राजमार्ग अवरोध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच मङ्सिर ५ गते मध्यराति झडप हुँदा प्रहरीको गोली लागेर मङ्सिर ५ गते राति रुपनीमा जमुनी मधेपुरा गाविस–९ छपकीका २८ वर्षीय नागेश्वर यादवको तथा भारदहको झडपमा गोली लागेर डाँढा गाविस–७ का १६ वर्षीय वीरेन्द्र रामको मृत्यु भएको छ भने राजविराजमा मङ्सिर ६ गते अपरान्ह प्रहरीको गोली लागेर घाइते भएका राजविराज नपा–१ का ३५ वर्षीय दिलिप साहको उपचारका क्रममा मङ्सिर ६ गते राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । टाउकोमा गोली लागेका साहको उपचारका क्रममा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराज नपा–१ स्थित आफ्नो घरको छतमा रहेका साहको टाउकोमा र उनकी छोरी ६ वर्षीया मुस्कान साहको हातका औँलाहरूमा गोलीको छर्रा लागेको थियो ।
सप्तरीको घटनामा २५ जना भन्दा बढी घाइते भएका छन् । घटनामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित प्रबन्ध गर्न नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछौँ ।
राजमार्गमा रोकिएका सवारी साधनलाई स्कर्टिङ गरी लैजाने क्रममा आन्दोलनकारीले अवरोध गरेपछि हवाइ फायर गरिएको र त्यसबाट पनि नियन्त्रण नभएपछि बाध्य भएर गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
प्रदर्शनकारीहरूलाई लक्षित गरी बल प्रयोग गरिनुअघि अवलम्बन गर्नुपर्ने उपायहरूको अनुसरण गर्ने तथा मानवीय क्षति हुन नदिन प्रयास गरिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको हामी नेपाल सरकारलाई स्मरण गराउन चाहन्छौँ । यस घटनाको न्यायोचित छानबिन गरी दोषीहरूलाई कारबाही गर्न तथा सर्वसाधारणको जिउधन र स्वतन्त्रताको भरपर्दो प्रबन्ध गर्न सरकारसँग माग गर्दछौँ ।
१ सय दिनदेखि तराई मधेसमा जारी आन्दोलनका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्तमानमा देखिएको समस्याको निकास वार्ता र सम्वाद नै हुने भएकाले आ–आफ्ना हठ त्यागी वार्ता र सम्वादबाट समस्याको निकास खोज्न सरकार तथा आन्दोलनरत पक्षसँग विनम्रतापूर्वक आग्रह गर्दछौँ ।

सुबोधराज प्याकुरेल