२०७२ साउन १४ गते
प्रेस वक्तव्य
प्रकाश मानवअधिकार पुरस्कार-२०७१ का लागि सप्तरीका बैद्यनाथ झाको चयन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२१ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेकका कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले चार दशकदेखि मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील झालाई’प्रकाश मानवअधिकार पुरस्कार-२०७१’बाट सम्मानका लागि सिफारिश गरेको थियो । इन्सेकका पाँचै क्षेत्रीय कार्यालयबाट सिफारिश भएका नामहरूमध्येबाट समितिले अन्तिम निर्णय गर्ने गर्दछ । यसअघि सप्तरीका स्व. रमानन्दप्रसाद सिंह यस पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।
सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा राजविराजस्थित सप्तरी जिल्ला विकास समितिको सभाकक्षमा साउन १६ गते ११ः०० बजे सम्पन्न हुने समारोहमा झालाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
इन्सेकका संस्थापक महासचिव अथक मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानवअधिकार पुरस्कार’बाट यसअघि २० जना सम्मानित भइसक्नु भएको छ । यस पुरस्कारस्वरूप सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष