०६२ कार्तिक २५ गते
प्रेस विज्ञप्ति
मानवअधिकार शिक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विगत १० वर्षेखि रेडियो नेपालबाट प्रसारण हुँदै आएको एक चर्चित कार्यक्रम हो । नेपालको इतिहासमै रेडियोबाट प्रसारण गरिएको यो पहिलो मानवअधिकार शिक्षा कार्यक्रम हो । प्रजातन्त्र, मानवअधिकार तथा बहुदलीय व्यवस्थाको संरक्षण एवं सम्बर्द्धनमा योगदान पुर्याउँदै आएको इन्सेकले मानवअधिकार शिक्षाको प्रचार प्रसार गर्न उक्त कार्यक्रम २०५१ साल माघ ७ गतेदेखि सञ्चालन गर्दै आएको हो । कार्यक्रमसँग आबद्ध रही देशका ७३ जिल्लाका दशौं हजार मानवअधिकार रक्षकहरूको संगठन ‘मानवअधिकार शिक्षा रेडियो स्रोता क्लब’ (रिलेक नेपाल) निर्माण हुनु यो कार्यक्रमको लोकप्रियताको प्रमाण हो ।
माघ १९ को शाही कदमपछि मानवअधिकार शिक्षा कार्यक्रमको उद्देश्यअनुरूप निर्माण गरिएका कार्यक्रमहरू प्रसारण गर्ने क्रममा अनेकपल्ट सेन्सरसीप खप्नु परेको छ । यसै क्रममा भोली बिहान प्रसारण गरिने कार्यक्रमका लागि संघसंस्थाहरूका लागि समाज कल्याण परिषद्द्वारा जारी आचार संहितासँग सम्बन्धित विषयवस्तु छनौट गरिएको थियो । कार्यक्रममा उक्त आचार संहिता बारेमा मानवअधिकारकर्मीहरूको धारणा समेटिएको थियो । तर उक्त कार्यक्रम प्रसारण गर्न अनुमति दिइएन ।
यस घटनाले मुलुकको प्रजातन्त्र र मानवअधिकारको अवस्थालाई प्रतिबिम्बन मात्र गर्दैन, भविष्यमा सरकार झनै अनियन्त्रित तवरले नागरिक अधिकारलाई कुल्चँदै जाने सङ्केत पनि गर्दछ । नेपाल अधिराज्यको संविधान २०४७ र राज्यद्वारा अनुमोदित अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरित भइरहेका यस्ता घटनाप्रति सबै प्रजातन्त्रप्रेमी मानवअधिकार रक्षकहरू सचेत एवं यस्ता क्रियाकलापका विरुद्ध सक्रिय रहन आग्रह गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष