वर्जु गाउँपालिका-५ अमाहीबेलाकी २१ वर्षीया अफाफ आरिफको दाइजोको निहुँमा हत्या भएकाले न्यायका लागि पहल गरीदिन पीडित पक्षले जेठ २७ गते पत्रकार सम्मेलन गरी आग्रह गरेको छ ।
हरिनगर गाउँपालिका-१ रामनगर भुटाह माइती भएकी २१ वर्षीया अफाफ आरिफको दाइजोको निहुँमा ०८२ जेठ १७ झुण्ड्याएर हत्या गरेको माइती पक्षको आरोप छ ।
बर्जु गाउँपालिका-५ अमाहीबेलाका २५ वर्षीय सदाव आलम अञ्सारीसँग ०८० मा विवाह भएकी छोरी अफाफको दाइजोको निहुँमा परिवारका सदस्यले मिलेर जेठ १७ गते झुण्ड्याएर हत्या गरेको मृतकका बाबु आरिफ हुसेन अञ्सारीले पत्रकार सम्मेलनमा बताउनु भयो ।
दाइजोको विषयमा सधैँ विवाद भइरहने र जेठ १७ गते छोरी अफाफको पति सदाव अञ्सारीको समेत मिलेमतोमा ५० वर्षीय ससुरा सफाज अञ्सारी, ४४ वर्षीया सासु रेहेना खातुन, ३२ वर्षीया नन्द नासरिन र ३५ वर्षीय नन्दे ज्वाइ नसरूद्धिन अञ्सारीले हत्या गरेको पीडित पक्षको आरोप छ ।
ज्वाइ विदेशमा भएको र दाइजोको निहुँमा ज्वाइको समेत मिलेमतोमा परिवारका सदस्यले छोरीको हत्या गरी घटनालाई झुण्डिएर आत्महत्या जस्तो बनाएको मृतक अफाफ आरिफका बाबु आरिफ हुसेन अञ्सारीले पत्रकार सम्मेलनमा आरोप लगाउनु भएको छ ।
छोरीको मृत्यु शङ्कास्पद भएकाले हत्या भएको भन्दै परिवारका सदस्यविरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले पत्रकार सम्मेलनमा आरोप लगाएको छ ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ १७ गते गरिएको छ । पीडित पक्षले शव बुझी जेठ १८ गते बर्जु गाउँपालिका-५ अमाहीबेलामा सद्गत गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले पीडित पक्षले हत्या आरोपमा जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि उजुरी दर्ता हुन बाँकी भएको बताउनु भयो ।
शवको पोष्टमार्टम र फरेन्सिक रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या पुष्टि हुने डिएसपी खतिवडाले बताउनु भयो ।
दुवै रिपोर्टमा हत्या भएको देखिए उजुरी दर्ता गरी कानुनी कारबाही अघि बढ्ने डिएसपी खतिवडाको भनाइ छ ।