६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते देशैभर विभिन्न कार्यक्रम गरिएको छ ।
विश्वका सम्पुर्ण मानवले बिना कुनै भेदभाव समान ढङ्गले सबै मानव अधिकार निर्वाध रूपमा उपभोग र अभ्यास गर्न पाउनु पर्दछ भन्ने उद्धेश्यले सन १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसङ्घले ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र’ जारी गरेको ६९ वर्षपुगेको अवसरमा आज उक्त दिवस मनाइएको हो ।
गैरसरकारी संस्था महासङ्घको अगुवाइमा नागरिक संस्थाहरूले आज काठमाडौंमा प्रभातफेरी गरिएको छ । काठमाडौँको भद्रकालीबाट सुरू भएको प्रभातफेरी रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
‘विकास र सम्बृद्धिको आधार, महिला र युवाका लागि समान अधिकार’ भन्ने मुल नाराका साथ काठमाडौँमा विभिन्न सङ्घसंस्थाको आयोजनामा राष्ट्रिय महाभेला २०७४ को नेतृत्वमा सो प्रभात र्याली सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर ‘हाम्रा अधिकारहरू, हाम्रा स्वतन्त्रताहरू, सधैँभरी’ भन्ने मुल नाराका साथ मनाइएको छ ।
रत्नपार्कमा आयोजित कोणसभामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्मा, सङ्कल्पका संयोजक एवम् मानव अधिकार महाभेलाकी संयोजक लिली थापा, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गोपाल लम्साल, मानव अधिकारकर्मी एवम् प्राध्यापक कपिल श्रेष्ठ, दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामलखन हरिजनलगायतले सम्बोधन गरेका छन् ।
बृहत शान्ति सम्झौता बमोजिम सङ्क्रमणकालीन न्यायको सन्दर्भमा ठोस प्रगति हुन नसकेको बताउँदै उनीहरूले त्यसको पुर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
परिवर्तित सन्दर्भमा सम्पुर्ण नेपाली नागरिकले आफ्ना सम्पुर्ण हक अधिकारहरूको सहज ढङ्गबाट प्रत्याभुत गराउन वक्ताहरूले माग गरेका छन् । सम्पुर्ण भेदभावको अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिदै वक्ताहरूले मानव अधिकार संरक्षण एवं सम्बर्द्धनका लागि दण्डहिनताको अन्त्य हुनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था महासङ्घ नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सङ्कल्प, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल दलित महिला उत्थान सङ्घ, हिमराइट्स, शक्ति समूह, मधेस मानव अधिकार गृह, जुरी नेपाल, युवा कार्य नेपालसहित १ सय भन्दा बढी मानव अधिकार सङ्गठनहरूको सहकार्यमा सो र्याली सम्पन्न भएको हो ।






फोटोः विमलचन्द्र शर्मा/इन्सेक