INSEC Online

📅 २०८३ जेष्ठ २१

रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राहीलाई समस्या

जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । रेबिजविरुद्धको खोप लगाउनु पर्ने सेवाग्राहीहरु खोप अभाव हुँदा जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जिल्ला अस्पताल, बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदा समेत हालसम्म पनि खोप उपलब्ध हुनसकेको छैन् ।

उहाँले भन्नुभयो ‘गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभाव बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ । तर, खोप उलब्ध नभएका कारण स्थानीय सेवाग्राहीलाई समस्या भएको छ ।’

जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट रेबिजविरुद्धको खोप दिइने गरिएको भए पनि पछिल्लो  समय खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर पठाउने गरेको सूचना अधिकारी पन्तले बताउनु भयो ।

कुनै जनावरले टोकेमा एक जनाले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनु पर्ने हुन्छ । तर, खोपको अभावमा त्यस्ता व्यक्तिलाई खोप नलगाएर नै फर्काउनुपरेको छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसो जस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनु पर्ने हुन्छ ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्याधिक दुख्ने, पानी र हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख, शरीरमा घाउ हुने, रेबिजका बिरामीले पानी पिउँदा घाँटी दुख्ने, स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाँधा उत्पन्न हुने र हृदयाघात तथा मृत्यु पनि हुनसक्छ ।

अन्य

भिडियो