सर्लाहीको कर्मैया र मलङ्गवामा मङ्सिर १८ गते बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित सर्लाही क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडीभित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताएका छन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कर्मैयाको पुतली चोकबाट करिब ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विष्फोट भएको छ । घटनास्थल आसपास सानो प्रेसर कुकर बम र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाले बताए ।