निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लामा उम्मेदवारका पक्षमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेका खबर आएका छन् ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार उमेशकुमार यादवले मङ्सिर १७ गते बिहानदेखि माइकिङबाट प्रचारप्रसार सुरू गरेका छन् ।

चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै आचारसंहिता विपरीत सिटी रिक्सामा ठूलो माइकद्वारा माइकिङ भइरहेको छ ।
सिटी रिक्साले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका यादवको पक्षमा उनका कार्यकर्ताले माइकिङ गर्दै राजविराजसहित आसपासका गाउँहरूमा मत माग्दै प्रचारप्रसार गरिरहेका छन् ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर र प्रदेश सभा सदस्य २ (२) का स्वतन्त्र उम्मेदवार अरूणकुमार देवले मङ्सिर १७ गते माइक तथा लाउडस्पिकरबाट मत माग्दै राजविराजमा घरदैलो गरेका छन् ।
निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ५ को क १२ अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आर्चायले आचारसंहिता विपरीत बृजेशकुमार गुप्ताका विरूद्धमा अनर्गल पर्चा वितरण गर्दै गरेको अवस्थामा बुद्धभूमि नपा-४ बुड्ढीका स्थानीयले पर्चा र प्रचारमा प्रयोग भएका दुई ओटा गाडीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोरूसिङ्गेलाई बुझाइएको छ ।

स्थानीयले काङ्ग्रेसको प्रचारप्रसारका पर्चासहित बृजेशकुमार गुप्ताकी पत्नी सङ्गिता गुप्ताको नाममा ‘मेरो पतिले मलाई नोकरसँग सुत्न दबाव दिए’ भन्ने पर्चा वितरण गरेको अवस्थामा बुद्धभूमि नपा-४ का स्थानीयले पर्चासहित लु १ ख ३६०४ र लु १ ज २९१७ नम्बरका उइगर गाडीलाई रोकेका थिए ।

उक्त गाडीले गाउँगाउँमा दिन भर पर्चा वितरण गरेको उक्त कार्य आचारसंहिता विपरीत भएको भन्दै एमालेका स्थानीय कार्यकर्ताले नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी, निर्वाचन आयोगमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आचार संहिता विपरित कार्य गर्ने दुई गाडी सहित प्रचार प्रशार कार्यमा संलग्न सबै लाई इलाका प्रहरी कार्यलयलाई नियन्त्रणमा लिन आदेश दिए पछि प्रहरीले दुबै गाडी सहित इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ । दुबै गाडी र गाडीमा रहेका काङ्ग्रेस कार्यकर्तालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।