INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित !

खत्याड गाउँपालिका–७, गम्थागाउँका ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन वञ्चित भएका छन् । गम्थागाउँका ६९ वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीको राष्ट्रिय परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको बताउनु भएको छ । मुगुको सदरमुकाम गमगढी जिल्ला प्रशासन कार्यालय निकै टाढा छ । त्यहाँ पुग्न सकिने अवस्था छैन । त्यहाँ नपुगी राष्ट्रिय परिचय पत्र बन्दैन । राष्ट्रिय परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन समस्या भएको हो ।

खत्याडका खमाले गाउँका ७१ वर्षीय खाम्मा बुढाले राष्ट्रिय परिचय पत्र नहुँदा एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैङ्कबाट झिक्न नसकेको बताउँदै यसले दैनिक खर्च व्यवस्थापनमा समस्या हुँदै आएको बताउनु भयो । बुढाले एक महिनामा दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो । तर राष्ट्रिय परिचय पत्र नहुँदा समस्या भएको उहाँले बताउनु भयो । उहाँका अनुसार खत्याड गाउँपालिका वडा नं ५ मा मात्रै ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिक र एकल महिलाले भत्ता पाउन सकेका छैनन् । खत्याड खमालेका ८४ वर्षीया चाउली बुढाले पनि सामाजिक सुरक्षा भत्ता नपाएको बताउनु भएको छ । उहाँले भन्नुभयो – ‘सदरमकाम खलङ्गामा पुगेर राष्ट्रिय परिचय पत्र बनाउन सकिएको छैन ।’

खत्याड गाउँपालिका–५ का वडाध्यक्ष चित्रबहादुर बुढाले राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको हुँदा समस्या देखिएको बताउनु भयो । उहाँले माछापुच्छ्रे बैङ्कले भत्ता दिन परिचय पत्र माग्ने गरेकाले ज्येष्ठ नागरिकहरू थप समस्या झेल्न बाध्य भएको बताउनु भयो । उहाँका अनुसार वडाका १ सय ४५ जना ज्येष्ठ नागरिक र एकल महिलाले सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका छन् । आवश्यक कागजात पूरा नहुँदा अधिकांशले भत्ता पाउन सकेका छैनन् । स्थानीयले ज्येष्ठ नागरिकलाई सहजीकरण गर्दै परिचय पत्र उपलब्ध गराउन गाउँपालिकाले गाउँ बस्तीमा जिल्ला प्रशासन कार्यालयले शिविरको आयोजना गर्नुपर्ने माग गरेको छ ।

गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीहरूको समस्या समाधान गर्न आगामी दिनमा गाउँपालिकाको पायक पर्ने स्थानमा राष्ट्रिय परिचय पत्र वितरण शिविर राखिने जिल्ला प्रसाशन कार्यालयका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनु भयो ।

अन्य

भिडियो