१३ र १४ वर्षीया बालिकालाई बन्धक बनाएको आरोपमा प्रहरीले चौबिसे गाउँपालिकाबाट दुई जनालाई गिरफ्तार गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका घर भएका बालिकालाई ०८१ फागुन १५ गतेदेखि तीनसम्म चौबिसे गाउँपालिका-३ गढीगाउँको एक घरमा बन्धक बनाएको आरोपमा प्रहरीले मोरङ, उर्लावारी नगरपालिका-५ सूर्यचोकका १९ वर्षीय प्रतीक विक र धनकुटा, चौविसे गाउँपालिका-३ गढीगाँउका १९ वर्षीय सनिश याख्यालाई फागुन १७ गते गिरफ्तार गरेको हो ।
दुई जना बालिकालाई चौबिसे गाउँपालिका-३ गढीगाउँका सनिश याख्खाको घरम बन्धक बनाएको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध फागुन १७ गते प्रहरी चौकी मुढेवासमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले बताउनु भयो । प्रहरीले बन्धकमा परेका बालिकालाई फागुन १७ गते उद्दार गरेको छ ।
बालिकाद्वयलाई आरोपितले फकाएर धनकुटा ल्याइ बन्धक बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बन्धक बनाइएको कारण खुल्न बाँकी रहेको एसपी चौधरीको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।