INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचनको सम्पूर्ण तयारी पूरा, उत्साहका साथ मतदानमा सरिक हुन आयोगको आग्रह

निर्वाचन आयोगले पहिलो चरणमा भोलि मङ्सिर १० गते बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० गते आइतबार बिहान ७ बजे आ-आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गरेको राससले जनाएको छ ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुँदैछ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् भने आइतबार सम्पन्न हुने निर्वाचनमा २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।

सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा बिसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने हुँदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको हो ।

संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलोका रूपमा स्थानीय तहको निर्वाचन यसअघि नै सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काका नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानूनी कार्य गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारभएकालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन अपिल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिए ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मतसङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्नसक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि हल्का हरियो रङको मसीले छापिएको मतपत्रमा रहेका चिन्हमध्ये एउटामा र प्रदेश सभाका लागि कालो मसीले छापिएका निर्वाचन चिन्हमध्ये कुनै एक चिन्हमा स्वस्तिक छाप लगाइ तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ ।

समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र १ मा तथा प्रदेश सभाका लागि मतपत्र २ मा भएका चिन्हमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिन्हमा मतसङ्केत गर्नुपर्नेछ ।

निर्वाचनको सम्वेदनशीलतालाई मनन् गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्प्रेषण गर्न आयोगले सम्पूर्ण सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।

अन्य

भिडियो