०७५ सालमा सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको भए पनि यस क्षेत्रका बिभिन्न स्थानीय तहका महिलाहरु महिनावारी भएको समयमा अझै छाउगोठमा बस्नु पर्ने बाध्यता कायमै छ ।
महिनावरी हुँदा महिला तथा युवतीहरू छाउगोठमा बस्ने प्रचलनका कारण महिला तथा युवतीहरु असुरक्षित भई उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ ।
महिनावारी भएको बेला घर नजिकै छाउगोठमा बस्नुभएकी मोहन्याल गाउँपालिका—७ कुइनेकी ४५ वर्षीया सरस्वती बिटालुलाई ०८१ माघ १३ गते बाघले आक्रमण गर्दा घाइते हुनुभएको छ ।
बाघको आक्रमणबाट घाइते भएकी सरस्वतीलाई स्थानीय प्रहरीको सहयोगमा उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पठाइएको मोहन्याल गाउाँलिका—७ का अध्यक्ष नवराज कठायतले बताउनु भयो ।
गाँउपालिका क्षेत्रमा छाउगोठ नभए पनि सबै वडाका प्रत्येक घरका महिला तथा किशोरीहरुले देवीदेवता रिसाउलान् भन्ने डरले अझै पनि घर भन्दा बाहिर घरसँगै रहेको गोठमा बस्नेगरेको उहाँले बताउनु भयो ।
महिनावरी हुँदा महिला तथा किशोरीहरू गोठमा बस्ने प्रचलन अझै कायम रहेको मोहन्याल गाउाँलिका—७ कुइनेकी ४५ वर्षीया सरस्वती बिटालुले बताउनु भयो ।
यो त केवल एक प्रतिनिधिमूलक घटना मात्रै हो । इन्सेकको अध्ययन प्रतिवेदनमा सन् २०१९ मा सुदूरपश्चिम प्रदेशमा दुई जना महिलाको छाउगोठभित्र निस्सासिएर मृत्यु भएको उल्लेख छ । इन्सेकका अनुसार ०६९ सालदेखि हालसम्म छाउगोठमा १५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
गत वर्ष ०८० साउन २३ गते छाउगोठ भित्र सुतेको अवस्थामा सर्पले डसेर बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्द साउन २४ गते मृत फेला परेकी थिइन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ०७० सालदेखि हालसम्म १५ जना महिलाको छाउगोठमा मृत्युु भएको छ । अछाममा १४ र बैतडीमा एक जना गरी १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी नवराज कार्कीले बताउनु भयो ।
प्रदेश सरकारले छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति, २०७६ निर्माण गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला तथा किशोरीहरु असुरक्षित छाउगोठमा बस्न बाध्य हुनुपरेको मोहन्याल गाँउपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताउनु भयो ।
सर्वोच्च अदालतले ०६२ वैशाख १९ गते छाउपडी प्रथालाई ‘कुरीति’ घोषणा गरेको १९ वर्ष बितिसक्दा पनि छाउकै कारण सुदूरपश्चिम प्रदेशमा महिला र किशोरीले ज्यान जोखिममा राखेर छाउगोठमा बस्न पर्ने र अकालमै मृत्युवरण गर्न बाध्य छन् ।