INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार शिवपुरी गाउँपालिका-३ लिखुस्थित महेन्द्र माविका शिक्षक ४३ वर्षीय मधुसुदन पौडेललाई प्रहरीले मङ्सिर ६ गते राति घरबाट गिरफ्तार गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन क्रान्तिकारीका जिल्ला अध्यक्ष रहेकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न भएको आरोपमा मङ्सिर ६ गते नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पञ्चदेवलविनायक नगरपालिका-२ का ३५ वर्षीय सज्जन धामीलाई सदरमुकाम मङ्गलसेनबाट गिरफ्तार गरी सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको इन्स्पेक्टर वकिलबहादुर सिंहले बताएका छन् । सिंहका अनुसार निर्वाचन अवधिभरी धामीलाई प्रहरी हिरासतमै राख्न प्रहरीको केन्द्रीय निर्देशन छ ।

निर्वाचन विरोधी गतिविधिमा नभइ सदरमुकामबाट मलाम जान लागेको समयमा गैरकानुनी रूपमा राज्यशक्तिको दुरूपयोग गरी आफ्ना कार्यकर्तालाई गिरफ्तार गरिएकोले बिना शर्त रिहाइ गरिनु पर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक शेरबहादुर बिकको भनाई रहेको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कोहलपुर नपा-११ का गनबहादुर केसी, सोही ठाउँका विष्णु जिसी, बैजनाथ गाउँपालिका-१ का कृष्णबहादुर शाही र खजुरा गाउँपालिका-८ रनियापुरका चुन्नी खाँलाई जिल्ला प्रहरी कार्यालयले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले आठ जनालाई गिरफ्तार गरेकोमा अन्य चार जनालाई सामान्य सोधपुछपछि सोही दिन रिहा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र अर्यालले बताए ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार बम बनाउन प्रयोग हुने करिब १३ किलोग्राम पाउडरसहित जोशीपुर गाउँपालिका-१ का जीतबहादुर घर्तीमगर र टीकापुर नपा-१ का लक्ष्मण क्षेत्रीलाई कैलालीको टिकापुरबाट मङ्सिर ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बर्दियाबाट कैलाली ल्याउँदै गरेको बम बनाउन प्रयोग हुने सामग्रीसहित उनीहरूलाई सत्ती प्रहरी चौकीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्य

भिडियो