स्वास्थ्य कार्यालय, दार्चुलाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एक वर्षअघिको जस्तै नवजात शिशु मृत्युदर घट्न सकेको छैन् । शिशु मृत्युदर घट्दै जानु पर्नेमा थपिदै गएको पाइएको छ ।
स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख बीरेन्द्र भट्टका अनुसार ०७८ / ०७९ मा २६ जना, रहेकोमा ०७९ / ०८० मा यो सङ्ख्या घटेर १६ पुगेको थियो । तर, गत आर्थिक वर्ष ०८० / ०८१ मा मुत्युदर सङ्ख्या बढेर १८ पुगेको छ भने चालु आर्थिक वर्षको पुस महिनासम्म पाँच जना शिशुको मृत्यु भइसकेको छ ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालले नवजात शिश मृत्युदरलाई घटाउँदै लैजानु पर्ने छ । तर, अघिल्लो वर्षको भन्दा नवजात शिशु मृत्युदर यस जिल्लामा बढेको तथ्याङ्कले देखाएको छ ।
नवजात शिशु मृत्युदर धनी वर्गका परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएकाहरूमा बढि देखिएको छ । कलिला आमामा यो दर उच्च रहेको छ । चेतनाको कमी, जन्मदाको समयमा औसत भन्दा सानो वा ठूलो तौल, सुत्केरी गराइने स्थान, रक्तअल्पताजस्ता कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ ।
अझै पनि गाउँघरमा धामीझाँक्रीकै भर परेर सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । पोसिलो खानपान, न्यायो लुगा र ओछ्यान नपाउँदा सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य बिग्रिने गरेको पाइएको छ ।
उकु स्वास्थ्य चौकीका सिनियर अनमी लीला महराले गाउँमा अझै पनि अन्धविश्वास कायमै रहेको कारण पनि यो समस्या जटिल बन्दै गएको बताउनु भयो ।
यो क्षेत्रमा दलित समुदायको बसोबास उच्च छ । नियमित चेकजाँच गर्नुपर्छ, पोषणयुक्त खाना खानुपर्छ र स्याँहार गर्नुपर्छ भन्ने ज्ञानको कमी अझै छ । आफ्नो स्वास्थ्य भन्दा पनि कामको बोझ बढि भएका कारण नियमित चेकजाँचको कमीले शिशुको अकालमै ज्यान जाने र महिलाहरुको पनि स्वास्थ्य जोखिम बढने गरेको उहाँले बताउनु भयो ।
शिशु मृत्युदर बढेको भए पनि जिल्लामा मातृ मृत्युदर भने गत वर्ष शुन्य रहको थियो । आर्थिक वर्ष ०७८ / ०७९ मा एक जना र ०७९ / ०८० मा एक जना गरी दुई जना आमाले ज्यान गुमाएका थिए ।