INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेकपा कार्यकर्ता गिरफ्तार

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।

चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई मङ्सिर ३ गते नारायणगढ बजार क्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले बताएका छन् ।

निर्वाचन कार्यक्रममा आक्रमण गर्ने कार्यहरू बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई गिरफ्तार गरिएको डिएसपी ढकालले बताए । यसअघि चितवन प्रहरीले टाँडी र भरतुरबाट दुई जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटार निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता २८ वर्षीय अनन्त धिताललाई मङ्सिर ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजङ्ग विष्टले जानकारी दिए । धिताल नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य भएको प्रहरीले जनाएको छ ।

इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बावुराम बास्तोलाका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

प्रहरीले नेकपाका सङ्खुवासभा जिल्ला कमिटीका सदस्य ३० वर्षीया निशा लिम्बुलाई चैनपुर बजारबाट गिरफ्तार गरेको छ भने नेकपाका सक्रिय सदस्य ३२ वर्षीय देवराज पुरीलाई खाँदबारी नगरपालिकाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

केही दिन अघि सङ्खुवासभामा उम्मेदवारलाई लक्षित गरी भएको एम्बुस प्रहारको घटनापछि प्रहरीले जिल्लामा सुरक्षा सतर्कतासमेत बढाएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार प्रहरीद्वारा गिरफ्तार परेका लिम्बु र पुरी दुवैका बारेमा थप अनुसन्धान भइरहेको छ । आपसपासका जिल्लामा निर्वाचन विरोधी र उम्मेदवार लक्षित आक्रमण गतिविधि एकपछि अर्को गर्दै बढ्न थालेपछि सङ्खुवासभाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना जिल्लास्तरीय नेता गिरफ्तार भएका छन् ।

नेकपाका कार्यकर्ताहरू कालिमाटी गाउँपालिका-४ डिमुरेका ३५ वर्षीय तुल्सीराम खत्री र थारमारेका ३३ वर्षीय कृष्ण वली गिरफ्तार भएका हुन् ।

दुईदिन पहिले नेकपाका कार्यकर्ताले बागचौर नगरपालिकामा निर्वाचन प्रचार सामग्री र वाम गठवन्धनका प्रचार सामग्री जलाएका थिए ।

यसैबिच नेकपा सल्यानले दार्मा गाउँपालिकाको फारूलामा रेडबुलको खाली डिव्वामा विष्फोटक पदार्थ भरेर मङसिर ३ गते विष्फोट गराएका छन् ।

फारूलामा रहेको जनज्योती माविको प्राङ्गणमा सो विष्फोट गराइएको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत बिकले जानकारी दिए ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार बम बनाउन प्रयोग गरिने सामग्री सहित प्रहरीले सुवर्णावती गाउँपालिका-५ क्वालीगाउँबाट मङ्सिर ३ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरूमा नेकपा रोल्पाका जिल्ला सदस्यहरू धनबहादुर थापा ‘विश्लेषण’, बिरबहादुर वली, हिमलाल पुन, मिनराम विष्ट, सक्रिय सदस्य खड्गबहादुर केसी र आइतराम वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।

उनीहरूको साथबाट रेडबुलका बट्टा सहित सात ओटा क्यान बम फेला परेको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका-१० धबाङमा रहेको जिल्ला सदस्य विश्लेषणको घर तलासी गर्दा बम बनाउन प्रयोग हुने ४३ ओटा सकेट फेला परेको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो