निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ ।
इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार धनकुटा जिल्ला इञ्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईसहित दुई जनालाई कात्तिक ३० गते खाल्सा छिन्ताङ् सहिदभूमि गाउँपालिकाको साप्तिनटारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
सो पार्टीका कार्यकर्ताद्वयलाई निर्वाचन विरोधी गतिविधि गर्दै आएको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धनप्रसाद सिवाकोटीले बताए । जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे ३ प ११८० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार निर्वाचन बिथोल्न सक्ने आरोपमा प्रहरीले रेसुङ्गा नपा-७ नेटाबाट नेपाल कम्युनिष्ट पार्टीका जिल्ला समिति सदस्य प्रशान्त बराललाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी गङ्गाबहादुर थापाका अनुसार आगामी निर्वाचनमा हुन सक्ने घटनाहरूलाई ध्यानमा राखेर बराललाई गिरफ्तार गरिएको हो ।
गिरफ्तार पश्चात् सो पार्टीले कात्तिक ३० गते विज्ञप्ति जारी गर्दै राजनीतिक आस्थाका आधारमा प्रशासनले आपराधिक शैलीमा घरमै गई बराललाई गिरफ्तार गरेको आरोप लगाउँदै उक्त गिरफ्तारीप्रति दुख ब्यक्त गरेको छ । साथै तत्काल रिहाईको मागसमेत गरेको छ ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा भरतपुर महानगरपालिका-११ का ३५ वर्षीय लोकनाथ पाण्डे र रत्ननगर नगरपालिका-१४ पिठुवाका २३ वर्षीय लक्ष्मी न्यौपाने रहेका छन् ।
निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई कात्तिक २९ गते राति गिरफ्तार गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर बिकलाई कात्तिक २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
व्यास नपा-२ मालपोत लाईनमा रहेको आफ्नै पसलमा बसिरहेका बिकलाई प्रहरीले साँझपख गिरफ्तार गरेको हो ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए । सो पार्टीका अन्य कार्यकर्ताहरू पनि प्रहरीको निगरानीमा रहेको एसपी जोशीले बताए ।