निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवार एवम् मतदातालाई प्रहरी प्रशासनको मात्रै भर नपरी आफ्नो सुरक्षा प्रति आफैँ सचेत रहन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले काठमाडौँमा कात्तिक २९ गते आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले पछिल्लो समय सुरक्षामा देखिएको चुनौतीप्रति आयोग एवम् सरकार सचेत रहेको बताउँदै यस्तो आग्रह गरेका हुन् ।
‘पछिल्लो समय देखिएको सुरक्षा चुनौतीप्रति आयोग र सरकार दुवै गम्भीर छ । सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने विषयमा हाम्रो बिचमा छलफल निरन्तर जारी छ ।’-यादवले भने-‘सुरक्षा व्यवस्था अझै दुरूस्त पारिनेछ । सँगसँगै राजनीतिक दलका नेता, उम्मेदवार एवम् मतदाताहरू आफ्नो सुरक्षा प्रति आफैँ पनि सचेत हुन जरूरी छ ।’
नेपाली जनताकै सहयोगमा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको बताउँदै उनले नेपाली जनताकै सहयोगमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि शान्तिपुर्ण, निष्पक्ष, स्वतन्त्र एवम् स्वच्छ रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गरे ।
डा. यादवले राजनीतिक दलका नेता एवम् उम्मेदवारलाई लोकतान्त्रिक विधि प्रक्रिया भित्र रहेर निर्वाचन आचारसंहिताको पालना गर्दै चुनावी प्रचारप्रसार गर्न आग्रह गरे । उनले भने-‘निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्छौँ ।’
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राजनीतिमा आपराधिकरण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दल आफैँले गरेको प्रतिबद्धता उल्लङ्घन गरिरहेको आरोप लगाए ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज, १ लाख रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था भए पनि यस्तो कारबाही नभएकाले निर्वाचनको निष्पक्षतामै प्रश्न चिन्ह खडा भएको आयोग सदस्य पौडेलको तर्क छ ।
पुर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन स्वच्छ रूपमा गराउनका लागि अहिलेको प्रमुख चुनौती नै सुरक्षा भएको बताए । निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गर्नुपर्ने सुझाव दिँदै उनले उल्लङ्घन गर्नेलाई करबाही गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण, स्वच्छ, निष्पक्ष एवम् स्वतन्त्र रूपमा सम्पन्न गर्न मिडियाले सकारात्मक भुमिका खेल्ने र समाचार सङ्कलनका लागि आयोगले सहज बनाउनुपर्ने बताए ।