INSEC Online

📅 २०८३ जेष्ठ २१

मुस्ताङमा ३७ ओटा मतदानस्थलमा ३७ ओटै केन्द्र

आगामी मङ्सिर १० गते पहिलो चरणमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हिमालपारीको जिल्ला मुस्ताङमा ३७ ओटा मतदानस्थल रहेका छन् । उक्त निर्वाचनका लागि मतदान केन्द्र पनि ३७ ओटै कायम गरिएको छ ।

१ हजार ५० जनासम्म मतदाता रहेकोमा एउटा मतदान केन्द्र तोकिए पनि मुस्ताङका कुनै पनि मतदानस्थलमा मापदण्ड अनुसारका मतदाताहरू नरहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

आसन्न निर्वाचनका लागि मुस्ताङमा कुल ९ हजार ४ सय २७ जना मतदाता रहेका छन् । तीमध्ये महिला ४ हजार ८ सय ६, पुरुष ४ हजार ६ सय २० र एकजना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर क्षेत्रदास बैरागीले जानकारी दिए ।

गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मुस्ताङमा कुल ८ हजार ४ सय ६१ जना मतदाता रहेको उनले बताए । निर्वाचन आयोगले पछिल्लोपटक गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा मुस्ताङमा ९ सय ६६ जना मतदाता थपिएका हुन् । २०६८ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको कुल जनसङ्ख्या १३ हजार ४ सय ५२ रहेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा १ हजार ८ सय ६, दालोमे गाउँपालिकामा १ हजार ३ सय ५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा २ हजार १ सय २१, घरपझोङ गाउँपालिकामा १ हजार ९ सय १२ र थासाङ गाउँपालिकामा २ हजार २ सय ३८ जना मतदाता रहेको कम्प्युटर अपरेटर वैरागीले बताए । उनका अनुसार सबैभन्दा धेरै मतदाता थासाङ र सबैभन्दा कम दालोमे गाउँपालिकामा रहेका छन् ।

पाँच ओटा गाउँपालिका रहेको मुस्ताङमा आउँदो निर्वाचनका लागि एक प्रतिनिधि सभा र दुई ओटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् भने विभिन्न दलका गरी आठ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । मुस्ताङको चुनावमा प्रतिनिधि सभातर्फनेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली र नेकपा एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार बनेका छन् ।

यसैगरी प्रदेशसभा ‘क’ मा काङ्ग्रेसका मिक्युर गुरुङ र एमालेकार् इन्द्रधाराधाडु विष्ट रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रदेशसभा ‘ख’ मा काङ्ग्रेसका छिरिङधावा गुरुङ, एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रिकबाट प्रविण शेरचन चुनावी मैदानमा उत्रिएका छन् ।

यसैबिच हिमाली जिल्ला मुस्ताङमा पनि मतदाता शिक्षा सञ्चालनमा ढिलाई हुँदा भोट कसरी हाल्ने भन्ने विषयमा मतदाताहरू भने अन्यौलमा परेका छन् । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक तयारी र सामग्रीहरू समयमा उपलब्ध गराउन नसक्दा पहिलो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा कार्यक्रम ढिलो सञ्चालन भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाई सकेर प्रत्यक्षतर्फको पनि एउटै पानामा छाप्ने तयारी गरिरहेको अवस्थामा सर्वोच्च अदालतले छुट्टाछुट्टै मतपत्र छपाउनुपर्ने आदेश दिएपछि मतदाता शिक्षामा ढिलाई हुन गएको हो ।

मतदाता शिक्षाका लागि आवश्यक पर्चा, पम्पलेट, निर्देशिका, हाते पुस्तिकालगायतका विभिन्न सामग्रीहरू तयार गरिसकेको अवस्थामा सर्वोच्चको आदेशले नयाँ सामग्री पुनः तयार गर्नुपर्ने भएपछि मतदाता शिक्षा सञ्चालनमा केही ढिलाई भएको निर्वाचन कार्यालयलेजनाएको छ ।

अन्य

भिडियो