बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि नेकपा एमालेले सरकारसँग सुरक्षाको माग गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २८ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारलाई सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेपनि सरकारले उपलब्ध नगराएको एमालेले आरोप लगाएको छ ।
‘पार्टीको मागका बाबजुद सम्वेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरी भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।’-एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएपनि सरकारले सुरक्षाको व्यवस्था नगर्नुले पार्टी गम्भीर भएको एमालेले जनाएको छ । बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै एमालेले निर्वाचन शान्तिपूर्ण एवम् स्वच्छ रूपमा गराउने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
भोजपुर-१ को ट्याम्केमैयुम नगरपालिका-७ गुम्बामा निर्वाचन प्रचारको क्रममा एमाले पोलिटव्युरो सदस्य, प्रदेश १ का सहसंयोजक एवम् भोजपुर १ (क) प्रदेश सभा सदस्य उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते आक्रमण भएको छ । आक्रमणमा परी उम्मेदवार राईका अङ्गरक्षक घाइते भएका छन् ।
पुर्वमन्त्री समेत रहेका राईमाथि निर्वाचन प्रचारको क्रममा भएको आक्रमणलाई एमालेले सिङ्गो पार्टी पङ्क्तिमाथिको आक्रमणको रूपमा लिएको जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ ।
यसअघि नै बाम गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता एवम् बिना विभागीय मन्त्री जर्नादन शर्मामाथि रुकुममा निर्वाचन प्रचार-प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा बम प्रहार भएको थियो । त्यस्तै प्रतिनिधि सभा सदस्यका लागि रोल्पाका बाम गठबन्धनका उम्मेदवार वर्षमान पुनमाथि रोल्पाको माडीगाउँमा बम आक्रमण भएको थियो ।