केन्द्रीय तथा प्रान्तीय चुनावका प्रचारप्रसारमा रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका उम्मेदवारप्रति लक्षित गरी पृथकपृथक स्थानमा भएका पटकपटकका आक्रमण तथा एम्बुस विष्फोटनका घटनाप्रति मानव अधिकार समुदायले घोर निन्दा तथा भत्र्सना गरेको छ ।
‘निर्वाचन मुलुकको लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचनमा नागरिकको मतदान गर्ने र उम्मेदवार हुने प्रकृयालाई विथोल्ने एवम् डरत्रास फैलाउने कार्य लोकतन्त्र विरोधि गतिविधि हुन् । यसबाट पुनरुत्थानवादी र गैर लोकतान्त्रिक शक्तिले प्रश्रय पाउने निश्चित छ । त्यसैले यस्ता गैरजिम्मेवारी कार्य तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई हामी तपसिलका अधिकारकर्मी जोडदार आग्रह गर्दछौं ।’-अधिकारकर्मीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसप्रकारका घटना राष्ट्रसङ्घले जारी गरेको विश्व मानव अधिकारको घोषणापत्र १९४८, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकार महासन्धि, मानव अधिकारका आधारभुत मुल्य मान्यता र नेपालको संविधान विपरित रहेको पनि उनीहरुले जनाएका छन् ।
उनीहरुले नेपाल सरकारसमक्ष निर्वाचनमा भाग लिएका उमेदवारहरुको सुरक्षाको सुनिश्चित गर्दै भयमुक्त वातावरणमा आममतदाताले निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न जोडदार माग गरेका छन् ।
अधिकारकर्मीहरु चरण प्रसाई, कपिल श्रेष्ठ, सुबोधराज प्याकुरेल, कनकमणि दिक्षित, प्रदिप पोख्रेल, राजन कुईकेल, सूर्यबहादुर अधिकारी, ईन्द्र अर्याल, बाबुराम गिरी, बिष्णुपुकार श्रेष्ठ, भवानी खरेल, लिली थापा, सुमन अधिकारी, गणेश मण्डल, सरीता गौतम, गिता नेऊपाने, पुष्पराज पौडेल, शिव विसंखेले विज्ञप्ति जारी गरेर निर्वाचनलाई आतङ्क र हिंसा मुक्त बनाउन अपिल गरेका हुन्।