सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगको कसुरमा सजाय तेकिएका गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री राजीव गुरुङलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गुरुङलाई काठमाडौँ सितापाइलाको कम्फर्ट हाउजिङबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
गुरुङलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाले जानकारी दिनु भयो।
ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य गुरुङलाइ सर्वोच्च अदालतले दोषी ठहर गर्दै मुद्दा चलेको २० वर्षपछि कात्तिक २० गते पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले गुरुङविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरेको हो ।