सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिहरूको सिफारिसका गर्न सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले आह्वान गरेको छ ।
‘दुवै आयोगमा सिफारिस हुने व्यक्तित्वहरूको पृष्ठभूमि विश्वसनीय र आम नागरिक विशेषगरी पीडितका लागि स्वीकार्य हुनु अति आवश्यक छ ।‘-सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा कात्तिक १४ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै आयोगमा पदाधिकारीहरु सिफारिस गर्दा मानव अधिकार, शान्ति, द्वन्द्व समाधान र पीडितको न्यायका क्षेत्रमा संलग्न रहेको, द्वन्द्वको प्रक्रियालाई आत्मसात गर्न सक्ने, द्वन्द्व पीडितहरूसँगै सहकार्य गरेको, कानुन निर्माण तथा संशोधन प्रक्रियामा सकारात्मक योगदान गरेको, शान्ति प्रक्रियामा रचानात्मक भूमिका निर्वाह गरेको व्यक्ति हुनु पर्नेमा समितिले विज्ञप्ति मार्फत् जोड दिएको छ ।
यसैगरी विज्ञप्तिमा राजनीतिक दल तथा नागरिक समाजसँग समन्वय गर्ने क्षमता भएको, न्यायिक आचरण भएको, निर्णय प्रक्रियामा निष्पक्षता कायम गर्नसक्ने क्षमता भएको, पीडितहरूले अपनत्व महसुस गर्न सक्ने, जनमानसमा स्वीकार्य हुन सक्ने, शान्ति र द्वन्द्व विषयमा जानकार, सामाजिक प्रतिष्ठा भएको, अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य तथा समन्वय गर्नसक्ने क्षमता भएको जस्ता योग्य एवम् सक्षम व्यक्तिलाई सिफारिस गर्न समितिले विशेष ध्यान दिनुपर्नेमा समितिले जोड दिएको हो ।
मानव अधिकार तथा पीडितको न्यायको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थाहरूको प्रतिनिधित्व भएको सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा प्रस्तावित महत्वपूर्ण संशोधनहरू संसदका दुवै सदनबाट पारित भई गत भाद्र १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनको प्रक्रिया सुरु हुनुलाई स्वागत पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ-‘विस्तृत शान्ति सम्झौता, २०६३ को मर्मअनुसार सत्यको अभिलेखन गर्न, पीडितको परिपूरण सुनिश्चित गरी समाजमा मेलमिलापको वातावरण बनाउन र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन तथा गम्भीर अपराधका घटनामा जबाफदेही स्थापना गर्न संशोधित ऐनको मर्म र भावना अनुरूप सङ्क्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय मान्यता अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न सिफारिस प्रक्रियालाई पारदर्शी, विश्वसनीय र सहभागितामूलक बनाउन निम्नानुसार ध्यानाकर्षण गराउँछौं ।‘
आयोग गठनका लागि पदाधिकारीहरुको सिफारिस प्रक्रियादेखि दुवै आयोगहरूबाट सम्पन्न गरिने हरेक कार्य सम्पादनको यस सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले निरन्तर सुक्ष्म अवलोकन गर्ने, आयोगहरूलाई सुझाव दिने, पीडितको न्याय सुनिश्चितताका लागि रचनात्मक सहयोग गर्ने तथा आवश्यक परेको खण्डमा पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि आवश्यक हुने समन्वय तथा सहकार्यजस्ता गतिविधिहरूमा समेत संलग्न रहने समितिका संयोजक सुशील प्याकुरेलले उल्लेख गर्नुभएको छ ।