१५ वर्षीया बालिकालाई काठमाडौँको गोङ्गबुमा लगी घुमाउने प्रलोभन देखाएर बुटवलको बसपार्कमा रहेको गुल्मी धुर्कोट होटलमा पुर्याएको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १६ गते दिउँसो उद्दार गरी गोरखा जिल्ला अजिरकोट गाउँपालिका-२ का २७ वर्षीय रविन भन्ने राजकुमार तामाङ्लाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते साँझ काठमाडौँ घुम्न जाउँ भन्दै लगेर चिया खुवाएको र चिया खाएपछि केही कुरा थाहा नपाएको पीडित बालिकाले बताइन् ।
चिया खाएपछि केही थाहा नभएको बताउँदै पीडित बालिकाले बुटवल बसपार्कमा रहेको गुल्मी धुर्कोट होटलमा सुतिरहेको अवस्थामा होसमा आएपछि होटलबाट आरोपितको फोनमार्फत आफ्नो बाबालाई फोन गरी रोएपछि अभिभावकको सहयोगमा प्रहरीले आरोपितलाई गिरफ्तार र पीडितको उद्धार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई घुमाउने बहाना बनाएर बेचबिखनका लागि लैजान लागेको अभिभावक र प्रहरी दुबैको आरोप छ । पीडित बालिकाका अभिभावकको उजुरीका आधारमा मानव बेचविखन तथा ओसार पसारसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
पीडित बालिकालाई लठ्याउने वस्तु खुवाएर ल्याइएकोले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १६ गते स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको डिएसपी भट्टराईले बताए ।