INSEC Online

📅 २०८३ जेष्ठ २१

विधुत सेवा सुचारु नगरिदा स्थानीय समस्यामा, जिल्लाका सबै सेवा प्रभावित !

पाँच दिन बितिसक्दा समेत अवरुद्ध विद्युत सेवा सुचारु नगरिएका कारण स्थानीयहरुलाई समस्या उत्पन्न भएको छ भने जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह गरिने सेवा प्रभावित भएका छन् ।

वर्षाका कारण विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाका स्थानीय पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । भदौ २६ गतेबाट परेको अविरल वर्षाले राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि जिल्लाको विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण, बझाङ वितरण केन्द्रका कर्मचारी राम कुँवरले बताउनु भयो । पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवन कष्टकर बन्नुको साथै व्यापारव्यवसाय र सरकारी कामकाज समेत प्रभावित भएको उहाँले बताउनु भयो ।

विद्युत नहुँदा मोबाइल समेत चार्ज गर्न नपाएर स्थानीयको सञ्चार सम्पर्क टुटेको छ भने व्यापारव्यवसायदेखि लिएर कार्यालय र घरायसी कामकाजमा समेत समस्या आएको जयपृथ्वी नगरपालिका–१० चैनपुरका स्थानीय व्यापारी मानबहादुर धामीले गुनासो गर्नु भयो ।

photo20240916bajhang (3)

विद्युत सेवा सुचारु नहुँदा होटल, मासु पसल र दुग्ध व्यवसायहरु मर्कामा परेका छन् । विद्युत सेवा नहुँदा दुधजन्य पदार्थ भण्डारण गर्न समस्या हुँदा खेर फाल्नु परेको सदरमुकाम चैनपुरका डेरी सञ्चालक लोकेन्द्र खड्काले गुनसो गर्नु भयो ।

विद्युत अवरुद्ध भएका कारण जिल्लास्थित रेडियो, ग्रिल उद्योग, कुटानी पिसानी मिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम ठप्प भएको छ । विजुली नहुँदा रेडियो बन्द गरेर बस्नु परेको जयपृथ्वी एफएम नेटवर्कका सञ्चालक रमेशप्रताप ओलीले बताउनु भयो ।

जयपृथ्वी नगरपालिकाको तमैल नजिक आएको पहिरोले भदौ २७ गते विद्युतको पोलमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको र सो समस्या समाधान गर्नु अगावै बैतडी जिल्लाको भालुमारेमा दुई ओटा पोल ढलेर थप समस्या उत्पन्न भएका कारण लामो समयसम्म विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, बझाङ वितरण केन्द्रका कर्मचारी राम कुँवरले बताउनु भयो ।

मर्मतको कार्य भइरहेको भए पनि समय लागिरहेकोले विद्युत सेवा सुचारु गर्न समस्या भएको तर असोज १ गतेसम्म जिल्लाका सबै क्षेत्रमा विद्युत सेवा सुचारु हुने कुँवरले जानकारी दिनु भयो ।

अन्य

भिडियो