अपरिचित व्यक्तिहरुद्वारा सिगास गाउँपालिका– १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ ।
स्थानीय गाजरी बजारबाट तीन घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडाध्यक्ष रामचन्द्र ऐरले बताउनु भयो । टावरमा राखिएको कृषी विकास बैंकको सर्भर उपकरण समेत तोडफोड गरिएको उहाँले बताउनु भयो ।
०८१ भदौ १५ गतेबाट बैंकमा इन्टरनेट नचलेपछि बैंकका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।
टावरमा क्षति भएको बारेमा भदौ १९ गते बिहान मात्रै जानकारी प्राप्त भएकोले प्रहरी टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर खेमविक्रम केसीले बताउनु भयो । प्रहरी टोली पुगेपछि घटना बारे थप अनुसन्धान थालिने इन्स्पेक्टर केसीले बताउनु भयो ।
स्थानीय क्षेत्रमा इन्टरनेट सेवा बन्द भएकोले गाँजरीस्थित कृषी विकास बैंकले सेवा उपलब्ध गराउन असमर्थ रहेको सूचना समेत जारी गरेको छ । घटना संलग्न व्यक्तिहरुको पहिचान हुन नसकेकोले खाेजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
