चिसोको मौसम छ । पति र छोरा छैनन् । भएकी छोरी बिवाह गरेर आफ्नो घर गइसकिन् । जागिर पनि छैन । भएको घर भूकम्पमा ढल्यो । बस्ने ठाउँ छैन् । यस्तो अवस्थामा कसरी बाच्ने ? काठमाडौँको बुढानिलकण्ठ नपा-१५ चुनिखेलकी एकल महिला मोहनमाया श्रेष्ठले यस्तै कुरा सुनाउँदै रून थालिन् ।
२०७२ वैशाख १२ गते आएको भूकम्पबाट पीडित श्रेष्ठले बाँच्ने कुनै आधार नभएको भन्दै सहयोगको याचना गर्दै रून थालेपछि सबैले उनको मुखमुखै हेर्न थाले । सरकारले भूकम्प पीडितका लागि राहत बाँडने र क्षतिपूर्ति दिने कुरा सुन्दासुन्दै दिक्क भएकी श्रेष्ठले आफ्नो दुबै हात जोडदै घर बनाइदिनेलाई धन्यबाद दिने बताइन् ।
बस्ने घर, खानलाई खेतबारी नभएको, बुढेसकालको साहारा पति र छोरासमेत नभएको अवस्थामा आफूलाई बाँच्नै समस्या भएको उनको दुखेसो छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल काठमाडौँको आयोजना र गैरसरकारी संस्था महासङ्घ काठमाडौँको संयोजनमा बुढानिलकण्ठ नगरपालिका-१५ चुनिखेलमा कात्तिक १५ गते आयोजित ‘भूकम्प पीडितको अवस्था तथा पुनर्निर्माण’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी श्रेष्ठको दुःखेसो सुनेपछि सहभागिहरू भावुक भएका थिए ।
‘बस्ने घर छैन, छोरा पनि छैन्, भएकी छोरी विवाह गरेर आफ्नो घर गइसकेकी छन्, मलाई हेर्ने कोही छैन् मेरा लागि केही गर्नुपर्यो’-श्रेष्ठले भनिन्,-‘यस्तो अवस्थामा कसरी बाच्ने, म अरू केही दिन सक्दिन् तर मेरो घर बनाइदिनेलाई म धन्यबाद दिन्छु ।’
अहिले चिसोको मौसम छ । वर्षातको समय पनि घर बिना नै बित्यो । सरकारले भूकम्प पीडितका लागि राहत दिने बताउँदै आएको भएपनि आफू बस्ने घर बन्न नसकेकोमा उनले घर बनाइदिन आग्रह गरिन् ।
भूकम्पपीडित कृष्णा श्रेष्ठले सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपियाँले कसरी घर बनाउने भन्दै प्रश्न गरिन् । ‘राहतको नाममा ५० हजार रुपियाँ पाइयो ।’ यो ५० हजारले कसरी घर बनाउने यस्तो महङ्गीको समयमा भन्दै उनले दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरिन् ।
भूकम्पीडित नानीमाया श्रेष्ठले आफूसँग जग्गा रहेको भए पनि लालपुर्जा नभएको बताइन् । ‘सरकारले लालपुर्जा भएकालाई राहत उपलब्ध गराउँछ । हामी लालपुर्जा नभएकालाई कसले सहयोग गर्ने ?’- श्रेष्ठले प्रश्न गरेकी छन् ।
कार्यक्रममा सहभागी अधिकाँशले जग्गा भएपनि लालपुर्जा नभएकाले राहत पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् । सरकारले लालपुर्जा भएको आफ्नो जग्गामा नक्सा पास गरी घर बनाउनेलाई राहत उपलब्ध गराउने नीति लिएपछि चुनिखेलका सयौ परिवार राहत पाउनबाट वञ्चित भएका छन् ।
बुढानिलकण्ठ नगरपालिका-१५ चुनिखेलमा ७ सय ४२ भूकम्पीडित रहेका छन् । जसमा ७ सय परिवारले पहिलो किस्ता बापत ५० हजार रुपियँ बुझेका छन् । २२ परिवारले मात्रै दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपियाँ राहत पाएको तथ्याङ्क वडा कार्यालयमा रहेको छ ।
आफ्नो जग्गाको लालपुर्जा नभएकाले नक्सा पास हुन नसकी मापदण्ड अनुसार घर बनाउनमा समस्या भएर सरकारद्वारा उपलब्ध गराइने राहत पाउनमा समस्या भएको उनीहरूले बताएका छन् । सरकारसँग उनीहरूले यसको बैकल्पिक उपाए अपनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागी दिल्लीराम गिरीले गुनासो फर्म तीन पटक भरेको बताउँदै सुनावाइ नभएकोमा आक्रोश व्यक्त गरेका छन् । आफूहरूले गुनासो फर्म तीन पटकसमेत भर्दा सुनुवाई नभएको भन्दै उनले आफूहरूको समस्या समाधानका लागि पहल गरिदिन अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।
आफ्नो समस्या एवम् गुनासा सुनाउन भूकम्प पीडितहरूको सङ्ख्या बढेपछि वडा कार्यालयको सभाहलमा सुरू गरिएको कार्यक्रम खुला चौरमा गर्नुपरेको थियो ।
कार्यक्रममा सहभागीहरूको समस्या गम्भीर रूपमा सुनिरहेका सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी बुढानिलकण्ठ नगरपालिका वडा १३ का अध्यक्ष कृष्ण श्रेष्ठले समस्या सामाधानका लागि पहल गरिरहेको बताए ।
‘यहाँ धेरै समस्या रहेको छ । म पनि यहीँको बासिन्दा भएकाले मलाई ती समस्याको बारेमा थाहा छ । मैले त्यस्ता समस्या समाधानका लागि पहल गरिरहेको छु ।’-श्रेष्ठले गुनासो गर्नेहरूलाई सम्झाउँदै भने-‘विपद बाजा बजाएर आउँदैन । हामी जस्तो समस्यामा छौँ । भूकम्प गएको अरू ठाउँमा पनि यस्तै समस्या छ । मैले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गरिरहेको छु ।’
नक्सा पास गरेर नक्सा अनुसारकै घर बनाउन उनले आग्रह गरे । जग्गा भएको तर लालपुर्जा नभएकालाई नगरपालिकामार्फत राहत एवम् क्षतिपूर्ति दिलाउने प्रयासमा आफू रहेको बताउँदै उनले सबै भूकम्प पीडितले न्याय पाउने बताए ।
मानव अधिकार सञ्जाल काठमाडौँका संयोजक प्रदिप डङ्गोलले भूकम्प पीडितहरू कष्टकर जीवन जिउन बाध्य भएको बताउँदै उनीहरूको जीवन सहज बनाउन आफूहरूले सरकारलाई दबाव दिइरहेको बताए । उनले सरकारलाई दबाव दिँदै राहत एवम् क्षतिपूर्ति उपलब्ध गराउनका लागि आफूहरू निरन्तर लागिरहनेसमेत बताए ।